झापा-कनकाई नगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न तथा नगराउन नगर क्षेत्रका सबै विद्यालयलाई निर्देशन दिएको छ ।
कनकाई नगरपालिकाको प्रशासन शाखाले शुक्रबार जारी गरेको सूचनाअनुसार नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमध्ये केही विद्यालयले सार्वजनिक बिदाका दिनसमेत विद्यालय सञ्चालन गरिरहेको गुनासो आएको थियो ।
नगरपालिकाका अनुसार सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन भइरहेको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत गुनासो पुगेपछि नगरपालिकाले सबै विद्यालयलाई सार्वजनिक बिदाको निर्णय पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

प्रशासन शाखाले जारी गरेको सूचनामा नेपाल सरकारको निर्णयबमोजिम सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न तथा नगराउन भनिएको छ । नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयलाई सार्वजनिक बिदासम्बन्धी निर्णयको पालना गर्नसमेत आग्रह गरेको छ ।
कनकाई नगरपालिका प्रशासन शाखाका अनुसार, २०८३ असोज १६ गते जारी गरिएको सूचनामार्फत सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन गर्ने कार्य तत्काल रोक्न सम्बन्धित विद्यालयलाई सचेत गराइएको हो ।



















