१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

बिर्तामोडमा दसैँको मुखमा ‘वेयरहाउस सेल’ : स्थानीय व्यवसायीको आपत्ति



बिर्तामोड– दसैँको मुख्य व्यापारिक सिजन सुरु भएसँगै बिर्तामोडमा आयोजना गरिएको ‘वेयरहाउस सेल’प्रति स्थानीय व्यवसायीले आपत्ति जनाएका छन् । बाहिरबाट आएर ठूलो छुटमा कपडा बिक्री गर्दा दसैँको व्यापारमा निर्भर स्थानीय व्यवसायी प्रभावित हुने भन्दै उनीहरूले यस्तो कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

नेपाली क्लोदिङ ब्रान्ड ‘चिनो’ले असोज १७ देखि २० गतेसम्म बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा ‘वेयरहाउस सेल’ आयोजना गर्दैछ । कम्पनीले फ्याक्ट्रीबाट सिधै ग्राहकलाई बिक्री गर्ने भएकाले थोक तथा खुद्रा दुवैमा विशेष छुट दिने जनाएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष तथा नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडका अध्यक्ष युवराज निरौलाले दसैँको मुख्य व्यापारिक समयमा बाहिरबाट आएर छुटका नाममा ठूलो परिमाणमा सामान बिक्री गर्नु स्थानीय व्यवसायीका लागि चुनौतीपूर्ण हुने बताए ।

‘दसैँको मुख्य सिजनमा केही व्यापार हुने आशामा बसेका स्थानीय व्यवसायीको व्यवसायमै असर पर्ने गरी बाहिरबाट आएर सेल सञ्चालन गर्न दिनु हुँदैन’, निरौलाले भने ।

उनका अनुसार स्थानीय व्यवसायीले बिर्तामोडमा नियमित व्यवसाय सञ्चालन गर्दै नगरपालिका तथा सम्बन्धित निकायलाई कर तिर्दै आएका छन् । तर, मुख्य व्यापारिक सिजनमै बाहिरबाट आउने व्यवसायीले अस्थायीरूपमा छुटको कार्यक्रम सञ्चालन गर्दा स्थानीय व्यवसायीको व्यापारमा प्रत्यक्ष असर पर्छ ।

‘स्थानीय व्यवसायीले वर्षभरि पसल सञ्चालन गरेर कर्मचारी राखेका छन्, घरभाडा तिरेका छन् र नियमित कर बुझाएका छन् । त्यही व्यवसायलाई प्रभावित हुने गरी मुख्य सिजनमा अस्थायी बिक्री केन्द्र सञ्चालन गर्नु उचित होइन’, निरौलाले भने ।

उनले यस्ता कार्यक्रमबाट स्थानीय व्यवसायीको लगानी र रोजगारीसँगै स्थानीय सरकारको नियमित कर प्रणालीमा समेत असर पर्न सक्ने बताए । स्थानीय व्यवसायीको व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रमबारे नगरपालिका र सम्बन्धित प्रशासनिक निकायले समेत गम्भीर ध्यान दिनुपर्ने उनको माग छ ।

चिनोले भने आफ्नै उत्पादन फ्याक्ट्रीबाट सिधै उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले वेयरहाउस सेल आयोजना गर्न लागेको जनाएको छ । कम्पनीले असोज १७ देखि २० गतेसम्म हुने सेलमा २ सय ९९ देखि १ हजार ४ सय ९९ रुपैयाँसम्मका कपडा बिक्री गर्ने जनाएको छ ।

दसैँको मुख्य खरिद सिजनमा छुटसहितको अस्थायी बिक्री र नियमित व्यापार गरिरहेका स्थानीय व्यवसायीबिचको प्रतिस्पर्धालाई लिएर बिर्तामोडमा बहस सुरु भएको छ । स्थानीय व्यवसायीले नियमन र समान व्यावसायिक वातावरणको माग गरेका छन् भने आयोजकले उपभोक्तालाई सुलभ मूल्यमा स्वदेशी उत्पादन उपलब्ध गराउने कार्यक्रम भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार ००:००  ८ : १५ बजे