बिर्तामोड- जेनजी आन्दोलनका घाइते विवेक दनुवारले आफ्ना माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने अडान लिएपछि उज्यालो पार्टी नेपालका नेता कार्यकर्ता उनको समर्थनमा अनशनस्थल पुगेका छन् ।
मंगलबार उज्यालो पार्टी नेपालकी केन्द्रीय सचिवालय सदस्य ईश्वरी कार्की, केन्द्रीय सदस्य सन्तोष आचार्य, कोशी प्रदेश अध्यक्ष एविराज आङदम्वे, झापा जिल्ला अध्यक्ष सिके वेगा सहितको टोली बिर्तामोडस्थित अनशनस्थल पुगेर दनुवारलाई भेटेको हो ।
टोलीले दनुवारले उठाएका मागप्रति ऐक्यबद्धता जनाउँदै जेनजी आन्दोलनका घाइतेहरूको दीर्घकालीन उपचारको व्यवस्था गर्न तथा स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
जेनजी आन्दोलनको बलमा सत्तामा पुगेको सरकारले आन्दोलनकारीलाई नै उपेक्षा गर्नु गम्भीर विषय भएको उज्यालो पार्टीकी सचिवालय सदस्य कार्कीले बताइन् । आन्दोलनको एक वर्ष पूरा भइसकेको अवस्थामा समेत आन्दोलनका क्रममा घाइते भएकाहरूले उपचार पाउने सुनिश्चितता नहुनु दुःखद भएको उनको भनाइ छ ।
उनले जेनजी आन्दोलनका घाइतेहरूका लागि दीर्घकालीन उपचारको व्यवस्था गर्न, शिक्षा र रोजगारीको अवसर उपलब्ध गराउन सरकारसँग माग गरिन् ।
‘जेनजी आन्दोलनकारीलाई उपेक्षा गर्ने हो भने यो सरकारलाई कुर्सीमा बसिरहने अधिकार छैन,’ कार्कीले भनिन्, ‘यो सरकार जेनजीहरूको आन्दोलनको बलमा बनेको हो । त्यसकारण उनीहरूका जायज माग पूरा गर्नुपर्छ ।’


















