६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी



भद्रपुर-छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेट ५० प्रतिशत कटौती गरिएको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनको चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा सोमबार जिल्ला हुलाक कार्यालय पुगेको टोलीले प्रमुख विक्रम लिम्बूलाई ज्ञापनपत्र बुझाउँदै संशोधित कार्यविधि तत्काल फिर्ता लिन माग गरेको हो ।

अध्यक्ष गिरीले लोककल्याणकारी विज्ञापनबापतका बिल नबुझ्न जिल्ला हुलाक कार्यालयलाई आग्रह गर्दै त्यसको बेवास्ता गरी बिल बुझ्ने काम भए मंगलबारदेखि हुलाक कार्यालयमा तालाबन्दी लगायतका कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

महासंघका पूर्वसभापति माधव विद्रोहीले आर्थिक संकट र सञ्चार सामग्रीको बढ्दो लागतका कारण छापा सञ्चारमाध्यम अस्तित्वकै चुनौतीमा रहेका बेला विज्ञापन बजेट कटौती गर्नु उचित नभएको बताए । उनले सञ्चारमाध्यमलाई संरक्षण गर्नुपर्ने अवस्थामा सरकारले थप संकट सिर्जना गरेको बताए ।

महासंघका उपाध्यक्ष सुब्रत न्यौपानेले ‘छापा माध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ फिर्ता गरी लोककल्याणकारी विज्ञापनको भुक्तानी साविककै व्यवस्थाअनुसार कायम गर्न माग गरे ।

महासंघका सचिव प्रदीप परियारले सञ्चारमाध्यमको संरक्षणसँगै श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि पनि सरकार जिम्मेवार हुनुपर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै जिल्ला हुलाक कार्यालयका प्रमुख विक्रम लिम्बूले झापाका सञ्चारमाध्यमले भोगिरहेका समस्या विज्ञापन बोर्डमा जानकारी गराउने र आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।

महासंघले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । केन्द्रीय समितिको सर्कुलरअनुसार देशभरका ७७ वटै जिल्ला शाखाले जिल्ला हुलाक कार्यालयमार्फत विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराइरहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार ००:००  ७ : ३४ बजे