३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत



बिर्तामोड– संविधान दिवसलाई औपचारिक कार्यक्रममा सीमित नगरी नेकपा एमाले बिर्तामोड नगर कमिटीले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । पछिल्लो समय रगतको अभाव भइरहेका बेला आयोजित कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् ।

एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले संविधान दिवसलाई नागरिक सेवासँग जोड्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

पार्टीका नेताकार्यकर्तालाई राजनीतिक गतिविधिसँगै मानवीय तथा परोपकारी काममा अग्रसर गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

‘संविधान दिवस औपचारिक कार्यक्रममा मात्र सीमित हुनुहुँदैन । जनताको जीवनसँग जोडिने काममार्फत पनि दिवस मनाउन सकिन्छ,’ अध्यक्ष भट्टराईले भन्नुभयो, ‘रगतको अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेका हौं ।’

नगर कमिटीको आयोजना तथा बिर्तामोड-३ नम्बर वडा कमिटीको सहआयोजनामा भएको कार्यक्रममा ११ महिला र ५० पुरुषले रक्तदान गरेको वडा कमिटीका अध्यक्ष कोशेश घिमिरेले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा वरिष्ठ अधिवक्ता टंक उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार ००:००  ८ : १९ बजे