बिर्तामोड-म्याद गुज्रिएको पशुदाना बिक्रीदेखि बजार मूल्यभन्दा झन्डै तीन गुणा महँगोमा काँडेतार बिक्री र सरकारी अस्पतालबाटै औषधिमा अत्यधिक शुल्क असुलिएको घटना सार्वजनिक गर्दै उपभोक्ता जागरण अभियान नेपालले बजार अनुगमन र नियमन प्रभावकारी बनाउन माग गरेको छ ।
अभियानले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी झापामा उपभोक्ताको हितविपरीत भइरहेका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो । अभियानका जिल्ला अध्यक्ष शालिकग्राम भट्टराईले व्यवसायीको लापरबाही र नियमनकारी निकायको कमजोर अनुगमनका कारण उपभोक्ता ठगीमा परिरहेको बताउनुभयो ।
अभियानका अनुसार मेचीनगर-९ स्थित दास किराना पसलले म्याद गुज्रिएको ४९० किलो पशुदाना बिक्री गरेको भेटिएपछि प्रशासनले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । वीरगञ्जको बायोटेक इन्डस्ट्रिज लिमिटेडले उत्पादन गरेको शक्ति ब्रान्डको उक्त पशुदाना म्याद गुज्रिएको अवस्थामा बिक्री गरिएको थियो ।
त्यस्तै, बुद्धशान्ति-३, बुधबारेस्थित शिवम् ट्रेड एन्ड सप्लायर्सले बजारमा प्रतिकिलो १२५ रुपैयाँमा पाइने काँडेतार ३६० रुपैयाँसम्ममा बिक्री गरेको भेटिएको अभियानले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको निर्देशनमा अनुगमन भएपछि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रादेशिक अस्पताल भद्रपुरले समेत एक सेवाग्राहीबाट १ हजार ९५० रुपैयाँ पर्ने औषधिको ६ हजार ८६८ रुपैयाँ लिएको घटना अभियानले सार्वजनिक गरेको छ । प्रशासनको निर्देशनपछि अस्पतालले सार्वजनिक रूपमा माफी माग्दै बढी लिएको रकम सेवाग्राहीलाई फिर्ता गरेको जनाइएको छ ।
उता, बिर्तामोड-९ मा भदौ पहिलो साता न्वारनको भोज खाएका ६० जनाभन्दा बढी बिरामी परेको घटना पनि अभियानले सार्वजनिक गरेको छ । कतिपय बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो ।
बिर्ता बजारस्थित गणेश फ्रेस हाउसबाट खरिद गरिएको कुखुराको मासु खाएपछि अधिकांश बिरामी परेको जनाइएको छ । भोजमा प्रयोग गरिएको तेलको नमुना समेत संकलन गरिएको अभियानले जनाएको छ ।
अभियानका केन्द्रीय उपाध्यक्ष राजेन्द्र घिमिरेले उपभोक्तामाथि हुने ठगी रोक्न नीतिगत र नियमनकारी तहबाटै प्रभावकारी काम हुनुपर्ने बताउनुभयो । उहाँले सरोकारवाला निकायलाई ‘कुर्सी मात्रै प्यारो’ भएको टिप्पणी गर्दै उपभोक्ताका समस्याप्रति संवेदनशील हुनुपर्ने बताउनुभयो ।
अभियानका जिल्ला उपाध्यक्ष इन्द्रप्रसाद ओलीले बजार अनुगमनमा अभियानलाई समेत सहभागी गराउन माग गर्नुभयो । यसैबीच अभियानले आगामी दुई वर्षभित्र झापाका १५ वटै स्थानीय तहमा पालिका समिति गठन गर्ने कार्ययोजना सार्वजनिक गरेको छ ।
अहिले मेचीनगर, अर्जुनधारा र बिर्तामोडमा मात्रै समिति गठन भएका छन् । युवामा बढ्दो कुलत तथा लागुऔषध प्रयोग न्यूनीकरणका लागि कचनकवलदेखि बाहुनडाँगीसम्म सचेतना र्याली गर्ने तथा उपभोक्ता शिक्षालाई अभियानका रूपमा अघि बढाउने अध्यक्ष भट्टराईले बताउनुभयो ।


















