झापा-सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको समितिमा सरकारले दुई सदस्य थप गरेको छ ।
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै ब्यालिस्टिक र फरेन्सिक परीक्षण गर्न प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई समितिको सदस्यमा नियुक्त गरेको हो ।
यसअघि गृह मन्त्रालयले सोमबार सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
उक्त समितिले देवानगञ्जमा आइतबार राति दुई समूहबिच भएको झडप र त्यससँग सम्बन्धित घटनाको अध्ययन गरिरहेको छ ।
समितिलाई घटनाको प्रतिवेदन यथाशीघ्र बुझाउन पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
घटनापछि यस्तै प्रकृतिका विवाद अन्य जिल्लामा फैलिन नदिन गृह मन्त्रालयले पूर्वतयारीसमेत तीव्र बनाएको छ ।
मन्त्रालयले बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरीलगायत जिल्लामा शान्ति, सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय गरिरहेको जनाएको छ ।
मन्त्रालयले संवेदनशील क्षेत्रमा सुरक्षा अनुगमन र समन्वयलाई थप प्रभावकारी बनाएको छ ।
बुधबार गृहमन्त्री, गृहसचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा विभिन्न जिल्लाको सुरक्षा अवस्थाबारे समीक्षा बैठकसमेत गरिएको थियो ।
गृह मन्त्रालयका अनुसार वार्तामार्फत सुनसरीको समस्या समाधान गर्ने प्रयास जारी रहेको छ ।
देवानगञ्जसहित संवेदनशील क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको मन्त्रालयले जनाएको छ ।


















