झापा -सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको बढेको तलब शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको छ ।
आधारभूत तलबमा १० प्रतिशत वृद्धि र कार्यसम्पादनमा आधारित १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्थासहित कर्मचारीको कुल पारिश्रमिक करिब २१ प्रतिशतसम्म बढ्ने भएको हो ।
सरकारले नयाँ आर्थिक वर्षसँगै संशोधित तलबमान लागू गर्दै सबै निजामती कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सार्वजनिक सेवाका कर्मचारीलाई बढेको तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।
बजेटमा आधारभूत तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरिएको थियो । त्यससँगै कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली लागू गर्ने उद्देश्यले नयाँ तलबमानको १० प्रतिशत बराबरको मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।
दुवै व्यवस्थाको संयुक्त प्रभावले कर्मचारीको कुल पारिश्रमिक करिब २१ प्रतिशतसम्म बढ्ने सरकारको दाबी छ । सरकारको यो निर्णयबाट लाखौं सरकारी कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् ।
बढेको तलब नयाँ आर्थिक वर्षको पहिलो महिनादेखि नै लागू हुने भएकाले साउन महिनाको पारिश्रमिक संशोधित दरअनुसार उपलब्ध गराइनेछ ।
सरकारले कर्मचारीको मनोबल उच्च बनाउने, कार्यसम्पादनमा सुधार ल्याउने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले तलब तथा प्रोत्साहन भत्ताको व्यवस्था गरिएको जनाएको छ ।


















