शिवसताक्षी– शिवसताक्षी नगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए प्राप्त गर्ने दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान गरेको छ । साथै, चालु आर्थिक वर्षको नगर छात्रवृत्ति कार्यक्रमअन्तर्गत ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
नगरपालिकाले सोमबार आयोजना गरेको कार्यक्रममा भानु माध्यमिक विद्यालय, लालझोडाकी कञ्चन काफ्ले र भानु माध्यमिक विद्यालय, पाराबारीका मञ्जिल नेपाललाई सर्वोत्कृष्ट विद्यार्थीका रूपमा नगद ११-११ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो । उनीहरूलाई नगर प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले सम्मान गरेका थिए ।
नगरपालिकाका अनुसार वडा नं. १ देखि ९ सम्म विनियोजित ११ लाख ५ हजार रुपैयाँ बराबरको छात्रवृत्तिबाट श्री गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयमा अध्ययनरत १५ जना विद्यार्थीलाई सम्बन्धित वडाको सिफारिसका आधारमा छात्रवृत्ति प्रदान गरिएको छ ।
यस्तै, नगर विकास योजना अन्तर्गत विनियोजित १० लाख रुपैयाँको छात्रवृत्तिबाट नेपाल एपीएफ स्कुलमा अध्ययनरत फुटबल खेलाडीसहित प्राविधिक विषयका ७ जना, सताक्षीधाम बहुमुखी क्याम्पसका २३ जना, नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका ५ जना, अनुसन्धान क्षेत्रमा संलग्न ७ जना, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका थप ९ जना, विभिन्न विषयमा अध्ययनरत २७ जना तथा लालपानी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ जना विद्यार्थी लाभान्वित भएका छन ।
नगर प्रमुख थोप्राको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख छविलाल ढकालले गरेका थिए । कार्यक्रममा उपप्रमुख कार्की, विभिन्न शैक्षिक संस्थाका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


















