दमक– नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको विस्तारित बैठक झापाको दमकस्थित थकाली किचेनमा सम्पन्न भएको छ । बैठकले खेलकुद क्षेत्रलाई सामाजिक रूपान्तरण, युवा नेतृत्व विकास र राष्ट्र निर्माणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएको छ ।
महासङ्घका कोशी प्रदेश अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रोमनाथ ओलीले खेल क्षेत्रको विकासका लागि सङ्गठनात्मक एकता, अनुशासन र सक्रियता आवश्यक रहेको बताउनुभयो । खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी समाज रूपान्तरणको माध्यमका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
महासङ्घका केन्द्रीय महासचिव धरमबहादुर लामाले प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीबीच प्रभावकारी समन्वय हुन सके महासङ्घलाई थप चलायमान बनाउन सकिने बताउनुभयो । उहाँले खेलकुद गतिविधिलाई जनस्तरसम्म पुर्याउने अभियानलाई तीव्रता दिइने जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष कोइरालाले केन्द्रीय कमिटीको सर्कुलर प्रस्तुत गर्दै सङ्गठनलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने उद्देश्यअनुसार तल्लो तहका कमिटीलाई सक्रियरूपमा परिचालन गरिने बताउनुभयो ।
खेलकुद क्षेत्रको समग्र विकासका लागि महासङ्घका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
बैठकमा सहभागी वक्ताहरूले कोशी प्रदेशमा खेलकुद पूर्वाधार विकास, तल्लो तहबाट प्रतिभा पहिचान, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलमैत्री वातावरण निर्माणमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए ।
यसैबीच, हालै कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा नियुक्त विप्लव घोषलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ तथा सदस्यहरू ईश्वरविक्रम शाह र बिना बस्नेतलाई पनि बधाई ज्ञापन गरिएको थियो ।
बैठकमा महासङ्घका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले खेलकुद क्षेत्रको चौतर्फी विकास र विस्तारका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।
















