२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

नेतृत्व नछोड्ने ओलीको घोषणा



काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सफलताको गन्तव्यमा पुर्‍याउनुअघि नेतृत्व नछोड्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रतिकूल अवस्था आउँदा जिम्मेवारीबाट पछि हट्ने उद्देश्यले आफू अध्यक्ष नबनेको स्पष्ट पारे ।

“सजिलो अवस्था आयो, अनुकूल वातावरण बन्यो भने अगाडि बढ्ने र अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भाग्ने सोचका साथ अध्यक्ष बनेको होइन,” उनले भने ।

ओलीले पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे आशंका नगर्न आग्रह गर्दै आफूले बीचमै जिम्मेवारी त्याग्ने सम्भावना नरहेको बताए । “मैले बीचैमा पार्टीलाई अलपत्र छोडेर हिँड्ने होइन । चुनौतीपूर्ण परिस्थितिसँग जुध्दै पार्टीलाई अगाडि बढाएर सफलतामा पुर्‍याएपछि मात्रै विश्राम लिने अवस्था आउँछ,” उनले भने ।

उनले नेतृत्व परिवर्तन पार्टीको विधान र स्थापित प्रक्रियाअनुसार हुने उल्लेख गर्दै आफू पनि सोही प्रक्रियाअन्तर्गत विश्राम लिने बताए । पछिल्लो समय पितृशोक, गिरफ्तारी र शल्यक्रियालगायत कारणले नियमित राजनीतिक गतिविधिमा केही अवरोध पुगेको उल्लेख गर्दै ओलीले अब पार्टीका नेता–कार्यकर्तासँगको भेटघाट र संवादलाई थप तीव्र बनाउने जानकारी दिए ।

“पार्टी, आन्दोलन र देशलाई देखिएका चुनौतीको सामना गर्दै अगाडि बढाउने मेरो संकल्प यथावत् छ,” उनले भने ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार ००:००  ४ : ३७ बजे