२० जेष्ठ २०८३, बुधबार | Wed Jun 3 2026

पत्रकारको नाममा धम्क्याएर पैसा असुलेको प्रति महासंघको आपत्ति



बिर्तामोड-नेपाल पत्रकार महासंघ झापाले पत्रकारको नाम प्रयोग गरी झापाका उद्योगी-व्यवसायीलाई धम्क्याएर रकम असुल्ने कार्यप्रति कडा आपत्ति जनाएको छ ।

हल्दीबारीका नितेश ओलीले विभिन्न सञ्चारमाध्यममा कार्यरत रहेको झुटो विवरण प्रस्तुत गर्दै उद्योगी-व्यवसायीलाई धम्क्याएर रकम असुल्ने गरेको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका सचिव राजु पाठकद्वारा जारी विज्ञप्तिमा ओलीले सामाजिक सञ्जालका विभिन्न पेज सञ्चालन गर्दै पत्रकारिताको नाममा गलत गतिविधि गरिरहेको उल्लेख गरिएको छ ।

महासंघले यस्ता गतिविधि तत्काल बन्द गर्न तथा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

यस्तै, प्रेस चौतारी नेपाल झापाले पनि उक्त घटनालाई गम्भीर रूपमा लिँदै ओलीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

चौतारीका सचिव युवराज आचार्यले सञ्चारमाध्यमको नाम दुरुपयोग गर्दै असुली कार्यमा संलग्न नहुन सम्बन्धित व्यक्तिलाई सचेत गराएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार ००:००  ३ : ४९ बजे