१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

बिर्तामोडमा अपाङ्गता भएका १ सय १७ जनालाई सहायक सामग्री वितरण



झापा– बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री तथा व्यावसायिक प्रविधि हस्तान्तरण गरेको छ ।

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा १ सय १७ जनालाई सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईँले लक्षित वर्गका व्यक्तिहरूलाई सामग्री हस्तान्तरण गर्नुभयो ।

वितरण गरिएका सामग्रीमा सिपी ह्विलचियर, साधारण ह्विलचियर, हियरिङ एड, कमोड चियर, रोलेटर वाकर, ट्राइपड स्टिक, एल्बो क्रच, वैशाखी, सेतो छडी र ट्राइसिकल रहेका छन् ।

त्यसैगरी आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले डिपफ्रिज, सिलाइ मेसिन, डिजिटल काँटा, साउन्ड सिस्टम, काठको सोकेस र्याक, ठेलागाडा र चापकटरसमेत प्रदान गरिएको छ ।

महिला तथा बालबालिका शाखा अधिकृत पुष्पा कार्की का अनुसार नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि लोकसेवा तयारी कक्षा, कम्प्युटर शिक्षालगायतका सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा नगर प्रमुख प्रसाईँले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा नगरपालिका तथा वडा कार्यालयमा भएको क्षतिपछि पुनर्निर्माणको आर्थिक भार बढे पनि अपाङ्गता भएका व्यक्तिहरूको सेवासुविधा कटौती नगरिएको बताउनुभयो । उहाँले आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको साझेदारीमा ९० लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक ३० लाख रुपैयाँ विनियोजन गर्दै आएको छ ।

कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्यहरू, नगरका कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार ००:००  ८ : ४४ बजे