झापा– झापाको गौरादह नगरपालिका-७ फगेटीमा स्कुल बसले किच्दा ४ वर्षीय बालकको मृत्यु भएको छ ।
आज साँझ करिब ५ बजे सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा अध्ययनरत आरोग्य चिमरियालाई किचेको प्रहरीले जनाएको छ ।
विद्यालयबाट घर पुर्याउने क्रममा बसबाट ओराल्ने बेला दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परेका बालक गौरादह-७ निवासी खड्ग चिमरियाका छोरा हुन् ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय गौरीगञ्जले बस र चालक ५७ वर्षीय लालबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ ।
बालकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
















