काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदमा उपस्थित गराउन आग्रह गर्न गएका सभामुख डोलप्रसाद अर्याल रित्तो हात फर्किएका छन् । संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गरेपछि सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए ।
विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्तामा सांसदहरूसँग प्रश्नोत्तर गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न माग गर्दै बुधबारको बैठक अवरोध गरेका हुन् ।
संसद बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रधानमन्त्री शाहलाई भेट्न पुगेका सभामुख अर्यालले सदनमा उपस्थितिका लागि आग्रह गरे पनि सकारात्मक जवाफ नपाएको संसद सचिवालयका एक अधिकारीले जानकारी दिए ।
नियम ५६ मा ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने’ व्यवस्था गरिएको छ । उक्त व्यवस्थाअनुसार १५ जना सांसदले प्रश्न सोध्न पाउने प्रावधान छ ।
यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल र त्यसको जवाफ दिने क्रममा समेत प्रधानमन्त्री शाह संसदमा अनुपस्थित भएका थिए । त्यसयता पनि उनले संसद बैठकमा उपस्थिति जनाएका छैनन् ।
प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।
बुधबार प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री सोविता गौतमले विज्ञान, प्रविधि तथा नवप्रवर्द्धन मन्त्रालयसँग सम्बन्धित प्रस्ताव पेश गर्न समय पाएपछि विपक्षी दल एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले विरोध जनाएका थिए ।
विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको विषय टुंगो नलागेसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएका छन् ।
















