काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ । चैत २५ गते २१ प्रतिशतसम्म भाडा बढाएको सरकारले तीन हप्ताको अन्तरमै बुधबार पुनः पाँच प्रतिशत भाडादर बढाएको हो ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा पाँच प्रतिशतले समायोजन गरिएको जनाएको छ ।
विभागका अनुसार भाडा वृद्धिका लागि बैशाख १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति प्रदान गरेको थियो । नयाँ भाडादर लागू भएसँगै अन्तरप्रदेश चल्ने सवारी साधनहरूले अब संशोधित दरअनुसार भाडा लिन पाउने भएका छन् ।
यसअघि गरिएको भाडा वृद्धिपछि चर्को आलोचना हुँदै आएको थियो । तर अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएको कारण देखाउँदै भाडा समायोजन गर्नुपरेको विभागको भनाइ छ ।
















