काठमाडौँ– नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको पछिल्लो प्रकरणबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ।
सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी प्रेस विज्ञप्तिमा कांग्रेसले सार्वजनिक रूपमा उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने जनाएको हो।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा पारदर्शिता र जवाफदेहितालाई लोकतन्त्रको आधारभूत मूल्य उल्लेख गर्दै यस्ता विषयमा विश्वसनीय, तथ्यमा आधारित अनुसन्धान अपरिहार्य रहेको बताइएको छ।
‘राजनीतिक नेतृत्व र राज्य संयन्त्रमाथि जनविश्वास कायम राख्न अनुसन्धान स्वतन्त्र र प्रभावरहित हुनुपर्छ’, विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित घटनाले केवल राजनीतिक बहस मात्रै नभई नैतिकता र सुशासनसँग जोडिएको गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ।
अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक भएकाले छानबिनलाई स्वतन्त्र वातावरणमा अघि बढाउनुपर्ने पार्टीको धारणा छ।
विज्ञप्तिमा आरोपमाथिको अनुसन्धानलाई कुनै प्रभाव, दबाब वा ढाकछोपतर्फ लैजान खोजिए त्यसले सुशासन, राजनीतिक नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुग्ने चेतावनी पनि दिइएको छ।
कांग्रेसले आफू सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढ रहेको जनाउँदै यस विषयमा सरकारको कदमलाई नजिकबाट नियाल्ने संकेत गरेको छ।
















