बिर्तामोड– आयोजक बुट्टाबारी युनाइटेड एफसीले भारतको तरञ्जुबारी फुटबल क्लबलाई १-० ले हराउँदै ‘एनी चौथो बुट्टाबारी गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा स्थान बनाएको छ।
बिर्तामोड-६ स्थित नमुना खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा बुट्टाबारीलाई जित दिलाउन प्रदीप बुढाथोकीले ३०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। सौरभ लिम्बूको लामो प्रहारलाई बुढाथोकीले हेडमार्फत जाली चुमाएका थिए।
गोल खाएपछि तरञ्जुबारीले खेलमा फर्किने प्रयास गरे पनि बराबरी गोल गर्न सकेन। दोस्रो हाफमा भारतीय टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि बुट्टाबारीका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाए।
निर्णायक गोल गरेका बुढाथोकी खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनलाई आयोजक समितिका अध्यक्ष प्रविण राई र बिर्तामोड-६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले पुरस्कार प्रदान गरे।
प्रतियोगिताअन्तर्गत आइतबार हुने दोस्रो क्वाटरफाइनलमा बेलबारी फुटबल क्लब मोरङ र रेडहर्स फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
भारतको एक र नेपालका सात टोलीसहित ८ टोली सहभागी प्रतियोगिताको फाइनल वैशाख १२ गते हुनेछ।
















