३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति कांग्रेसको आपत्ति



काठमाडौँ– निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले उक्त निर्णयले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष असर पार्ने जनाएको हो ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले सरकारी विज्ञापन वितरणमा विभेदपूर्ण नीति अवलम्बन गरिएको भन्दै निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा सरकारले सञ्चारमाध्यमलाई नियमन गर्न सक्ने भए पनि चयनात्मक व्यवहार गर्न नहुने उल्लेख छ । ‘सरकारले नियमन गर्न सक्छ, तर विभेद गर्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्णय सच्याएर सबै सञ्चारमाध्यमप्रति समान व्यवहार गर्न सरकारलाई आग्रह गरिन्छ ।’

कांग्रेसले विज्ञापन वितरण प्रक्रिया पारदर्शी, न्यायोचित र स्पष्ट मापदण्डका आधारमा हुनुपर्ने माग पनि दोहोर्‍याएको छ । निजी सञ्चारमाध्यम र पत्रकारसम्बद्ध संस्थाहरूले समेत सरकारको उक्त निर्णयको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार ००:००  ९ : ०५ बजे