५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

लागुऔषध नियन्त्रणमा ‘निर्मम’ बन्न गृहमन्त्री गुरुङको निर्देशन



भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागुऔषधसहित आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षाकर्मीलाई ‘निर्मम’ रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

आइतबार भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा आयोजित सुरक्षा निकाय प्रमुखहरूको बैठकमा मन्त्री गुरुङले जनअपेक्षाअनुसार सुशासन कायम गर्न कडाइका साथ काम गर्नुपर्नेमा जोड दिएका हुन्।

‘लागुऔषध र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन, परिणाम देखिने गरी काम गर्नुपर्छ’, उनले भने।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मन्त्री गुरुङले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

यसैबीच, मन्त्री गुरुङले जिल्लाका विभिन्न स्थानको निरीक्षणसमेत गरेका छन्। शनिबार राति उनले नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत पहिरो जोखिमयुक्त घोप्टेभिर र तुइन खोलालगायत क्षेत्रको अवलोकन गर्दै वर्षायामअघि नै दीर्घकालीन समाधानसहित काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

गुरुङ आइतबार नै पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको अवस्थाबारे निरीक्षण गर्न नवलपरासी (पूर्व)तर्फ प्रस्थान गरेका छन्।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ००:००  ७ : ३० बजे