४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

आइतबार बिदाले कोर्स पूरा गर्न चुनौती



झापा– सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेपछि तोकिएको शैक्षिक सत्रभित्र विद्यालयदेखि विश्वविद्यालयसम्मको कोर्स पूरा गर्न कठिन हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

२२ चैतको मन्त्रिपरिषद् बैठकले इन्धन संकटलाई कारण देखाउँदै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसअनुसार शिक्षा मन्त्रालयले सातामा दुई दिन बिदा, १५ वैशाखदेखि भर्ना र २१ वैशाखदेखि कक्षा सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ।

प्रधानाध्यापक संघका अध्यक्ष सुदाम गौतमले सातामा पाँच दिन मात्र कक्षा सञ्चालन गर्दा कोर्स पूरा गर्न नसकिने बताए। ‘पाठ्यक्रम समायोजन वा पठनपाठन अवधि बढाउनुको विकल्प छैन’, उनले भने।

त्रिभुवन विश्वविद्यालयका सहायक डिन अवतार सुवेदीले पनि ६ दिनको संरचनामा बनेको पाठ्यक्रम पाँच दिनमा समेट्न कठिन हुने उल्लेख गरे।

पाठ्यक्रम विकास केन्द्रले कोर्स पूरा गर्ने विकल्प खोजी भइरहेको जनाएको छ। ‘अहिलेकै अवस्थामा चुनौती छ, केही दिनमै निर्णयमा पुग्छौँ’, निर्देशक पुरुषोत्तम घिमिरेले भने।

अभिभावक संघले दुई दिने बिदाले सिकाइ अवधि घट्ने र वर्षभर विद्यालय खुल्ने दिन १ सयभन्दा कम हुन सक्ने भन्दै निर्णयप्रति असन्तुष्टि जनाएको छ।

सरकारले परिवर्तित बिदाअनुसार शैक्षिक कार्यक्रम समायोजन गर्न निर्देशन दिएको छ भने केही निजी विद्यालयले आइतबार अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार ००:००  ७ : ४६ बजे