झापा-हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयले वार्षिक करिब ५२ दिन पढाइ प्रभावित हुने भन्दै प्याब्सन झापाले शैक्षिक तालिका अव्यवस्थित हुने जनाएको छ। अध्यक्ष छत्रबहादुर कार्कीले न्यूनतम २०५ दिन कक्षा सञ्चालन गर्न कठिन हुने बताउँदै पाठ्यक्रम पूरा गर्न समस्या देखिएको उल्लेख गरे।
प्याब्सनले शैक्षिक सत्र छोट्याउने निर्णयप्रति पनि प्रश्न उठाएको छ। परीक्षा सम्पन्न भएपछि चैत मसान्त वा वैशाख पहिलो साताभित्र नतिजा प्रकाशन गरी भर्ना प्रक्रिया अघि बढाउन सकिने अवस्थामा सत्र घटाउनु औचित्यहीन भएको कार्कीको भनाइ छ।
विद्यालय सञ्चालनमा ढिलाइ हुँदा बिर्तामोड र मेचीनगरका केही अभिभावकले बालबालिकालाई भारततर्फका विद्यालयमा पठाउन थालेको भन्दै प्याब्सनले चिन्ता व्यक्त गरेको छ।
यसैबीच, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले शुल्कसम्बन्धी विषयमा सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति आपत्ति जनाउँदै प्रचलित मापदण्डअनुसार नै शुल्क निर्धारण भइरहेको स्पष्ट पारे।
















