८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

सरकारविरुद्ध एमाले झन् कठोर : झापाका दुई स्थानमा एकै दिन विरोध सभा



बिर्तामोड-नेकपा एमाले झापाले पुस १० गते जिल्लाका दुई अलग-अलग स्थानमा सरकारविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेको छ । सरकारी कार्यशैलीको आलोचना गर्दै एमालेले झापाको बिर्तामोड र दमकमा प्रदर्शनको तयारी गरेको हो ।

नेकपा एमाले झापाले मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी असंवैधानिक सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध खबरदारी गर्न लागिएको जनाएको छ ।

एमाले झापाका अध्यक्ष प्रेम गिरीले लोकतान्त्रिक नेताहरूलाई पक्राउको धम्की दिने, स्थान हद गर्ने लगायतका कार्यशैली स्वीकार्य नभएको बताए ।

‘वर्तमान प्रतिगामी सत्ता र षड्यन्त्रकारीले गर्ने हुलहुज्जतलाई जवाफी हमला गर्न एमाले तयार छ’, पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले भने ।

एमालेले सबै किसिमका षड्यन्त्रको भण्डाफोर गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सहकार्यका लागि सबै लोकतान्त्रिक दल र शक्तिलाई अपिल पनि गरेको छ ।

एमालेले दुवै ठाउँका खबरदारी सभामा सक्रिय रुपमा सहभागी हुन आफ्ना सबै नेता कार्यकर्तालाई अनुरोध पनि गरेको छ । कार्यक्रममा एमाले नेता कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्ने छन् ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार ००:००  ८ : ०२ बजे