१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

बिर्तामोडबाट ५४ राउन्ड गोलीसहित दुईजना पक्राउ



बिर्तामोड-झापाको बिर्तामोडबाट प्रहरीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका हतियारका गोलीगट्ठा र अन्य सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

झापा बिर्तामोड नगरपालिका २, राम चोकस्थित लालबहादुर गिरीको घरमा डेरा गरी बस्ने २७ वर्षीया ईस्रप खातुनको कोठाबाट प्रहरीले ठूलो परिमाणमा गोली र अन्य लुटिएका सामान बरामद गरेको हाे ।

प्रहरीको विशेष टोलीले खातुनको कोठाबाट एसएलआरका ३८ राउन्ड र इन्सास राइफलका १६ राउन्ड गोली बरामद गरेको छ ।

गोलीगट्ठासँगै प्रहरीले लुटिएका अन्य सामग्रीहरू पनि बरामद गरेको छ, जसमा एउटा काँसको थाल, एउटा करुवा, एउटा पित्तलको गिलास र एक जोर प्रहरीको बुट रहेका छन् ।

घटनामा संलग्न २२ वर्षीय बिकाश टुडुलाई पनि प्रहरीले बिर्तामोड नगरपालिका २, रामचोकबाट नियन्त्रणमा लिएको छ । दुवै जनालाई बरामद सामानसहित इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आन्दोलनका क्रममा भएको लुटपाट र हतियार दुरुपयोगका घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको बताएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बुधबार ००:००  ६ : ४० बजे