१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

वर्षापछिको बाढी पहिरो : इलाममा अहिलेसम्म ३४ जनाको मृत्यु



बिर्तामोड-अविरल वर्षापछिको बाढी पहिरोमा परेर इलाममा ३४ जनाको मृत्यु भएको छ । आइतबार साढे १ बजेसम्मको विवरण अनुसार बाढी पहिरोमा यति ठूलो मानवीय क्षति भएको हो ।

जिल्ला प्रशासन कार्यालय इलामको प्रारम्भिक विवरण अनुसार बाढी पहिरोमा परेर चारजना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी छ ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले अहिलेसम्म ३४ जनाको मृत्यु भएको पुष्टि गर्दै ११ जनाको पोस्टमार्टम गरिएको जनाएकी छन् ।

बाढी पहिरोबाट विस्थापित हुनेको विवरणहरू सङ्कलन भइरहेकाले थप क्षतिका घटना आउने क्रम जारी रहेको प्रमुख जिल्ला अधिकारी नेपालले बताइन् ।

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध छ । केचना कञ्चनजङ्गा मार्ग र अरु वैकल्पिक सबै मार्गहरू समेत अवरुद्ध छन् ।

पहिरोमा फसेकाहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार प्रक्रिया चलिरहेको छ । नेपाली सेनाले माङ्सेबुङ गाउँपालिकाको गजुरमुखीबाट गर्भवती महिलासहित उनको परिवारका सदस्यलाई उद्धार गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार ००:००  २ : ०१ बजे