झापा– नेपाली कला क्षेत्रमा तीन दशकभन्दा लामो समय बिताएका झापाका कलाकार, निर्माता तथा गायक सरोज ओलीको लगानीमा निर्मित चलचित्र ‘हरिबहादुरको जुत्ता’ यही असोज १३ गते अर्थात् फूलपाती (दशैं) बाट देशभर प्रदर्शनमा आउने भएको छ ।
दर्जनौं म्युजिक भिडियो निर्माण गरी चर्चा कमाइसकेका सरोजका अधिकांश म्युजिक भिडियोहरू करोड क्लबमा समावेश भइसकेका छन् । म्युजिक भिडियो, सन्देशमूलक सर्ट मुभी र सरकारी विज्ञापन निर्माणमा पोख्त ओली गायनमा पनि उत्तिकै अब्बल मानिन्छन् ।
लामो समयदेखि कला क्षेत्रमै सक्रिय सरोज यसपटक भने फरक धारमा चलचित्र निर्माणमा होमिएका छन् । मह जोडीका रूपमा चिनिएका चर्चित कलाकार हरिवंश आचार्य सँगको सहकार्यमा चलचित्र क्षेत्रको यात्रा सुरु गरेका सरोजले अबको यात्रालाई अझ सशक्त र सुदृढ बनाउँदै चलचित्र क्षेत्रमै अगाडि बढ्ने सोच बनाएको बताएका छन् ।
टेलिसिरियल ‘हरिबहादुर मदनबहादुर’ को चर्चित हास्य पात्र हरिबहादुर- हरिवंश आचार्य यस चलचित्रमा मुख्य भूमिकामा देखिनेछन् । कमेडी ड्रामा र देशको समसामयिक राजनीतिक विषयवस्तुमा आधारित ‘हरिबहादुरको जुत्ता’ हरिवंश आचार्य स्वयंले लेखेका हुन् ।
हरिवंश आचार्यका साथै मुख्य कलाकारहरूमा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा, मोहितवंश आचार्य, किरण केसी लगायत नेपालका चर्चित अनुहारलाई चलचित्रको पर्दामा देख्न सकिनेछ ।
यसबाहेक पूर्वी झापाबाट कलाकार याम खरेल र बालकृष्ण ओलीको भूमिकालाई पनि ‘हरिबहादुरको जुत्ता’ मा हेर्न सकिनेछ । एस.एम. मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई ‘पशुपतिप्रसाद’ जस्तो सुपरहिट चलचित्र निर्देशन गरेर ख्याति कमाएका निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका छन् ।
सरोज ओली र मोहितवंश आचार्यले यस चलचित्र निर्माण गरेका हुन् । काठमाडौं, काभ्रेपलान्चोक लगायत देशका आकर्षक ठाउँमा छायांकन गरिएको यस चलचित्रका ‘बेला बितेसी’ र ‘ढाका टोपी शिरैमा’ बोलका दुई गीतहरू चलचित्र प्रदर्शन हुनुअगावै टिकटक र सामाजिक सञ्जालमा भाइरल भइसकेका छन् ।
निर्माता सरोज ओलीले चलचित्र रमाइलो, सामाजिक एवम् राजनीतिक मानवीय संवेदना बोकेको हुनाले आम दर्शकको मन जित्ने कुरामा विश्वस्त रहेको बताएका छन् ।
















