१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

yahachha.com नामक पहिलो नेपाली फ्रिल्यान्स प्लेटफर्म सार्वजनिक



बिर्तामोड-नेपालमा प्रविधिको प्रयोगबाट रोजगारीका अवसरहरू सिर्जना गर्ने र सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ ‘yahachha.com’ नामक पहिलो नेपाली फ्रिल्यान्स प्लेटफर्म सार्वजनिक गरिएको छ ।

झापाको बिर्तामोडस्थित किंङसवेरीमा आयोजित एक समारोहका बीच सोमवार यस व्यवसायिक अनलाईन पोर्टलको औपचारिक सुरुवात गरियो ।

नगर प्रमुखद्वारा पोर्टल सार्वजनिक :

बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले रुटदेभ्स सफ्टवेयर डेभलपमेन्ट प्रालि. द्वारा निर्मित यस व्यवसायिक अनलाईन पोर्टलको सार्वजनिक गर्नु भएको हो ।

यस प्लेटफर्मले प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्ने र सोही क्षेत्रबाट सेवा लिन चाहनेहरूका लागि एउटा महत्वपूर्ण माध्यमको रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।

घरमै बसेर काम गर्ने अवसर :

कम्पनीका रविन थापाका अनुसार, प्रविधिसँग सम्बन्धित कुनै पनि सेवाका लागि काम गर्न वा गराउन यो प्लेटफर्मको प्रयोग गर्न सकिनेछ । ल्यापटप र इन्टरनेट हुने जो कोहीले पनि कुनै पनि ठाउँमा बसेर काम गर्न सक्ने सुविधा यसले प्रदान गर्दछ ।

थापाले स्वदेशमा रोजगार छैन भनी विदेश जाने सोचमा रहेका युवाहरूलाई प्रविधिको ज्ञान भएमा नेपालमै रोजगारीका प्रशस्त अवसरहरू रहेको बताए ।

सन् २०१६ देखि अन्तर्राष्ट्रिय स्तरमा सेवा दिँदै आएको कम्पनीले अब नेपालभरका लागि यो नयाँ कार्यक्रम ल्याएको हो । अनलाइन सेवामार्फत गरिने कामको भुक्तानीका लागि खल्ती डिजिटल वालेटको व्यवस्था मिलाइएको छ ।

रोजगार र सीप जोड्ने माध्यम :

‘yahachha.com’ लाई रोजगार र सीपलाई जोड्ने माध्यमका रूपमा सार्वजनिक गरिएको छ, जसले काम खोज्ने र सेवा खोज्ने दुवै पक्षका समस्याहरू समाधान गर्ने विश्वास गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख प्रसाईले युवाहरूले नेपालमै सम्भावना देखाउन गरेको यस प्रयासको खुलेर प्रशंसा गर्नुभयो ।

उहाँले “केही हुँदैन” भन्नेहरूका लागि यो कामले बलियो उदाहरण पेश गरेको बताउँदै, प्रविधिको युगमा अति आवश्यक अनलाइन व्यवसायिक पोर्टल निर्माण गरेकामा धन्यवाद ज्ञापन गर्नु भयो ।

सम्मान र शुभकामना:

सो अवसरमा उक्त कार्यक्रम निर्माणका लागि आवश्यक सहयोग गर्ने युवा व्यवसायी पदम श्रेष्ठलाई सम्मान गरिएको थियो । सल्लाहकार रविन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । पत्रकार रमेश तिवारीले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका नविन भण्डारीले स्वागत गर्नु भएको थियो ।

यो नयाँ पहलले नेपाली युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली व्यवसायहरूलाई प्रविधिको प्रयोगमार्फत अगाडि बढ्न मद्दत पुर्याउनेछ । yahachha.com ले नेपालको डिजिटल अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार ००:००  १ : २२ बजे