१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

काफ्ले बन्धुका तीन संस्थाबीच कार्यगत एकता : अब एउटै नामबाट सामाजिक कार्य



इटहरी- काफ्ले बन्धुहरूका विभिन्न सामाजिक संस्थाहरूबीचको एकीकरणको लामो प्रयासपछि अन्ततः ‘काफ्ले बन्धु समाज नेपाल’ को नाममा कार्यगत एकता घोषणा भएको छ ।

संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका सामाजिक संस्थाहरूबीच एकीकरणमा देखिएको कानुनी जटिलताका कारण तीन छुट्टाछुट्टै संस्थाहरूले कार्यगत एकता गरी सामूहिक उपस्थिति जनाउने निष्कर्षमा पुगेका हुन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ बलियास्थित नयाँ बृन्दावन गौशालामा शनिबार सम्पन्न कार्यगत एकता घोषणा सभापछि अब ‘काफ्ले समाज’ (काठमाडौंमा दर्ता), ‘काफ्ले बन्धु कल्याण समिति नेपाल’ (मोरङमा दर्ता) र ‘काफ्ले बन्धु समाज’ (सुनसरीमा दर्ता) ले ‘काफ्ले बन्धु समाज नेपाल’ को एउटै नामबाट आफ्ना सम्पूर्ण कार्यक्रमहरू सञ्चालन गर्नेछन् ।

ऐतिहासिक सहमति र हस्ताक्षर:
कार्यक्रममा काफ्ले समाजका केन्द्रीय अध्यक्ष कमलप्रसाद काफ्ले, काफ्ले बन्धु कल्याण समिति नेपालका केन्द्रीय अध्यक्ष गोपालप्रसाद काफ्ले र काफ्ले बन्धु समाजका अध्यक्ष खेमनाथ काफ्लेले कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर गरे । सहमतिपत्रमा उल्लेखित १८ बुँदाहरू काफ्ले समाजका महासचिव देवीप्रसाद शर्मा काफ्लेले वाचन गरेका थिए ।

वार्ता समितिका सदस्य तोयानाथ काफ्लेका अनुसार, विगतमा संस्था एकीकरणका लागि गरिएका अनेकौँ प्रयासहरू असफल हुँदै गएका थिए, तर वर्तमान केन्द्रीय समितिहरूको लचिलो अडानका कारण यस पटक कार्यगत एकताका लागि सहमति जुट्न सम्भव भएको हो ।

२०८१ माघ ७ गतेदेखि सुरु भएका चरणबद्ध वार्ताहरूबाट यी १८ बुँदे निष्कर्ष निकालिएको र ती सबै बुँदाहरू पालना तथा कार्यान्वयन गर्ने गरी कार्यगत एकता गरिएको काफ्ले बन्धु कल्याण समिति नेपालका केन्द्रीय अध्यक्ष गोपालप्रसाद काफ्लेले बताए।

केन्द्रीय समन्वय समिति र कार्यसञ्चालन नियामावली मस्यौदा समिति गठन:
एकता घोषणा समारोहमा तीनवटै संस्थाका अध्यक्षहरूले ‘काफ्ले बन्धु समाज नेपाल’ को नाममा बनेको ब्यानर संयुक्त रूपमा प्रदर्शन गरेका थिए ।

बन्धुहरूको हितमा काम गर्न र संस्थाहरूलाई समन्वय गर्नका लागि काफ्ले समाजका निवर्तमान केन्द्रीय अध्यक्ष ख्यामनारायण काफ्लेको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ ।

साथै, तीनवटै संस्थाहरूका विधानहरूको अध्ययन गरी ‘काफ्ले बन्धु समाज नेपाल’ ले गर्ने कामहरूलाई व्यवस्थित गर्न केन्द्रीय सदस्य तोयानाथ काफ्लेको संयोजकत्वमा कार्यसञ्चालन नियामावली मस्यौदा समिति पनि गठन गरिएको छ ।

जग्गादाता र वंशावली संकलक सम्मानित:
यस अवसरमा काफ्ले बन्धुहरूको उत्थान, उन्नयन र संस्थाको स्थायित्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा जग्गा दान गर्नुहुने ८ जना महानुभावहरूलाई सम्मान गरियो ।

सम्मानित हुनेहरूमा झापाको अर्जुनधारा-६ का गोविन्द काफ्ले, मोरङको सुन्दरहरैंचा-५ बलियाका इन्द्रकुमार काफ्ले (विनोद), मेचीनगर-७ इटाभट्टाका खडानन्द काफ्ले, गंगाराम काफ्ले र देवीप्रसाद काफ्ले, तथा मोरङको बुढीगंगा-१ टंकिसिनवारीका गणेशप्रसाद काफ्ले, प्रेमप्रसाद काफ्ले र सुशिल काफ्ले रहेका छन्।

सोही समारोहमा काफ्ले वंशावली २०६५ का संकलक विराटनगर निवासी देवीप्रसाद काफ्लेलाई विशेष व्यक्तित्व सम्मान प्रदान गरिएको थियो।

काफ्ले समाजका संरक्षक तथा एकता वार्ता समितिका संयोजक निलकण्ठ काफ्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरूलाई काफ्ले बन्धु कल्याण समिति नेपालका उपाध्यक्ष शिवप्रसाद काफ्लेले शाब्दिक स्वागत गर्दै कार्यगत एकताको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन काफ्ले समाजका झापा जिल्ला अध्यक्ष एवं एकता वार्ता समितिका सदस्य गोपाल काफ्लेले गरेका थिए । एकता वार्ता समितिका सहसंयोजक एवं संस्थाका संरक्षक गुणराज काफ्लेले एकता वार्ताका शृङ्खलाहरू केलाउँदै बन्धुहरूको संस्थालाई एकीकरण नै गर्न मिल्ने गरी ऐनमा संशोधन गर्न सबै थरका संस्थाहरूलाई घचघच्याउनु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार ००:००  ३ : ३४ बजे