१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

राष्ट्रकवि घिमिरेको स्मृतिमा २७ लाख रुपैयाँको अक्षय कोष



काठमाडौँ– नेपाली साहित्यका शिखर पुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिलाई चिरस्थायी बनाउँदै साहित्य सेवामा समर्पित स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले २७ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ बसेको बैठकले यस महत्त्वपूर्ण निर्णय गरेको हो ।

अक्षय कोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले उदारतापूर्वक १६ लाख रुपैयाँ प्रदान गरेकी छिन् भने परिवारका अन्य सदस्यहरूबाट थप रकम जुटाई कुल २७ लाखको कोष खडा गरिएको छ ।

प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाका अनुसार, प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको शुभ अवसर पारेर असोज ७ गते एक जना विशिष्ट साहित्यकारलाई नगद १ लाख रुपैयाँसहित ‘माधवप्रसाद घिमिरे पुरस्कार’ प्रदान गरिनेछ ।

यसअघि कोषमा १६ लाख रुपैयाँ मौज्दात रहेकोमा परिवारजनको थप सहयोगले कोषको आकार बढेको हो । यस अक्षयकोषको स्थापनाले नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याउने स्रष्टाहरूलाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

राष्ट्रकवि घिमिरेको २०७७ भदौ २ गते १०१ वर्षको उमेरमा निधन भएको थियो । रामविलास बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको २०१५ मा प्रकाशित गरेको गौरी खण्डकाव्य सबैभन्दा चर्चित खण्डकाव्य हो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार ००:००  १ : १४ बजे