१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

प्रेस चौतारीको उपचार कोषमा एमाले उपाध्यक्ष ढुङ्गेलको ११ हजार सहयोग



बिर्तामोड-प्रेस चौतारी नेपाल झापाद्वारा स्थापित ‘पत्रकार उपचार सहयोग कोष’ मा नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङ्गेलले ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । उनले यसअघि नै सहयोग गर्ने घोषणा गरेअनुसार आज उक्त रकम प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै उपाध्यक्ष ढुङ्गेलले सूचना तथा सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरूको स्वास्थ्य उपचारका लागि स्थापित कोषमा सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । आफू पनि सामाजिक एवं राजनीतिक जीवनमा क्रियाशील रहेकोले कोषमा योगदान गरेको उनले जानकारी दिए ।

पत्रकारहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको यस कोषमा विभिन्न अवसर पारेर सहयोग जुट्ने क्रम जारी छ । कोषकी संयोजक भीमा शिवाकोटीले जानकारी दिए अनुसार, यस कार्यकालमा कोषलाई १५ लाख रुपैयाँ पुर्याउने योजनाका साथ काम भइरहेको छ ।

हालसम्म कोषमा ७ लाख रुपैयाँ संकलन भइसकेको छ । कोषको ब्याजबाट पत्रकारहरूको उपचारमा सहयोग गर्ने कार्यविधि रहेको शिवाकोटीले बताएकी छिन् । पत्रकार उपचार सहयोग कोषले झापाका पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार ००:००  १२ : ५८ बजे