१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी : विधान नमान्नेलाई कारबाही



झापा-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान र निर्णय नमान्ने नेता तथा कार्यकर्तामाथि महाधिवेशनको अघिल्लो दिनसम्म कारबाही गर्न सकिने कडा चेतावनी दिएका छन् ।

गृह जिल्ला झापाको बिर्तामोडमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले विधानका व्यवस्था सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

विभागीय जिम्मेवारी हेरफेर कारबाही होइन :
अध्यक्ष लिङ्देनले आफूलाई प्राप्त अधिकारका आधारमा नेता कार्यकर्ताको विभागीय जिम्मेवारी हेरफेर गर्दा वा थप जिम्मेवारी अर्कालाई दिँदा त्यसलाई कारबाहीका रूपमा बुझ्न र विश्लेषण गर्न नहुने स्पष्ट पारे ।

उनले पार्टीभित्र बाहिर सार्वजनिक भएजस्तो कुनै विवाद नरहेको दाबी गर्दै केही नेताहरू आफूलाई बदनाम गराएर नेतृत्व हत्याउने दाउमा सुनियोजित रूपमा लागेको आरोप लगाए। यस्ता गतिविधिको छिनोफानो कार्यकर्ताले गर्ने उनले बताए ।

“विचार मिल्यो तर व्यक्ति मिलेन भने महाधिवेशनसम्म कुर्नुपर्छ । विचार मिलेन भने पार्टी छोडेर गए भइहाल्छ,” उनले भने । निर्धारित समयमै महाधिवेशन हुने बताउँदै उनले प्राविधिक कारणबाहेक समय लम्ब्याउने पक्षमा आफू नरहेको स्पष्ट पारे । राप्रपाले हाल जिल्ला तहको अधिवेशन गरिरहेको छ ।

संसदमा बहुमतको बल मिच्याइँ सह्य छैन :
अध्यक्ष लिङ्देनले बहुमतको बलमा संसद चलाउन खोजिएकोप्रति आपत्ति जनाउँदै यस विषयमा आफूले सभामुखसँग पनि कुरा गरेको बताए । संसदमा आफ्नो पार्टीले राखेका मागका विषयमा सुनुवाइ नभएसम्म निरन्तर असहमति राख्ने उनले प्रष्ट पारे ।

झापा ५ बाट ओलीविरुद्ध चुनाव लड्ने:
राप्रपा अध्यक्ष लिङ्देनले झापा क्षेत्र नम्बर ५ बाट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न आफू तयार रहेको पुनः दोहोर्याए । यसअघि शनिवारको जिल्ला अधिवेशनमा पनि उनले यो घोषणा गरेका थिए ।

उनले कांग्रेस-एमालेको सत्ता सहकार्य लम्बिए देश झन् बर्बादीको बाटोमा जाने जिकिर गरे । राजनीतिक स्थायित्वका लागि कार्यकारी प्रधानमन्त्री र राजसंस्थाको मागलाई आफूहरूले दृढताका साथ उठाइरहेको उनले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार ००:००  १२ : ०१ बजे