१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

अलैँचीको विकास र प्रवर्द्धनमा सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता



झापा-कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैंचीको उत्पादन र निर्यातलाई दोब्बर बनाउने व्यावसायिक योजनामा लाग्न सरोकारवालालाई अपिल गर्नु भएको छ ।

उहाँले उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनकाे कार्ययोजनासहित आए प्रदेश सरकारका तर्फबाट पर्याप्त सहयोग गर्ने बताउनु भएको हो ।

झापाको बिर्तामोडमा भेला भएका १७ जिल्लाका अलैँची किसान र व्यवसायीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आर्थिक विकास र समृद्धिको बाटोमा हिँड्न प्रदेश सरकार तयार रहेको बताउँदै निजी क्षेत्रलाई आफूले उच्च प्राथमिकता दिएको बताउनु भयो ।

अहिले भइरहेको उत्पादनलाई दोब्बर रूपमा वृद्धि गर्न र निर्यात बढाउन चाहिने सबै प्रकारका सहयोग प्रदेश सरकारले उपलब्ध गराउने बताउँदै मुख्यमन्त्री कार्कीले स्वदेशमा सम्भावना छैन भनेर गीत गाइरहनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

अलैँची खेती प्रवर्द्धनकाे प्रचुर सम्भावना रहेको विषयमा थप अध्ययन गर्न व्यवसायीलाई आग्रह गर्दै मुख्यमन्त्री कार्कीले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारको सहयोगमा ‘उदय’ परियोजना सुरु गर्ने घोषणा गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले उद्यमशीलताको विकासका लागि परियोजनाकाे आधारमा व्यवसायीलाई ३० लाखदेखि ३ करोड रुपैयाँसम्म सहुलियत कर्जा प्रदान गरिने बताउनुभयो ।

परियोजना अन्तर्गत कोशी प्रदेश सरकारको ग्यारेन्टीमा झण्डै ८ अर्ब रुपैयाँ लगानी परिचालन हुनेछ । नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार नेपालले अलैँची निर्यातबाट वर्षेनि ७ देखि १० अर्ब रुपैयाँ आम्दानी गर्दै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार ००:००  ९ : ०२ बजे