बिर्तामोड- झापाको कनकाईमा मंगलवारराति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिरिङ पुलमा तीव्र गतिमा रहेका दुई सवारी साधन, मे. १ च ३४४० नम्बरको मारुती भेन र मे. १ च ५४४६ नम्बरको बोलेरो पिकअप एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मारुती भेनका चालक शिवसताक्षी-७ का २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो । उनलाई उपचारका लागि बीएन्डसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा शिवसताक्षी-७ का एकै परिवारका चार सदस्य घाइते भएका छन् ।
घाइते हुनेहरूमा ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साह रहेका छन् । उनीहरूको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पृथ्वीनाथको शरीरका विभिन्न भागमा, पुनमदेवीको अनुहारमा, प्रसन्नको दाहिने खुट्टामा र प्रिन्साको नाक तथा दाहिने खुट्टामा चोट लागेको छ । प्रहरीले दुर्घटनामा संलग्न दुवै गाडी र बोलेरो पिकअपका चालक धनकुटा महालक्ष्मी-८ बस्ने २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको छ ।



















