काठमाडौं– नेकपा एमालेको भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा सहभागी हुन देशभरबाट छानिएका २,३९२ प्रतिनिधिले आर्थिक बोझ व्यहोर्नुपर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयले महाधिवेशन अवधिभर प्रतिनिधिहरूका लागि बासको व्यवस्था नगर्ने र खाना पनि दिनमा एक पटक मात्र उपलब्ध गराउने निर्णय गरेको छ ।
पार्टी नेतृत्वले खर्च कटौतीको नीति लिएको बताए पनि यसको प्रत्यक्ष मारमा उपत्यकाबाहिरबाट आउने प्रतिनिधिहरू पर्नेछन् । तीन दिनसम्म राजधानीमा बस्न र दुई छाक खानाको व्यवस्थापन गर्नुपर्दा उनीहरूलाई अतिरिक्त खर्च लाग्नेछ ।
एमाले सचिव डा. भीष्म अधिकारीले बिहानको खाना मात्र खुवाइने र बस्ने व्यवस्था प्रतिनिधि स्वयंले गर्नुपर्ने बताएका छन् । “हामी यसपटक खर्च कम गर्ने पक्षमा छौं,” उनले भने ।
पार्टीको महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन आउँदा लाग्ने सम्पूर्ण खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने भएपछि तल्लो तहका र आर्थिक अवस्था कमजोर भएका कार्यकर्तालाई थप मर्का पर्ने निश्चित छ ।



















