१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

शिक्षक कुटेपछि आपराधिक पृष्ठभूमिका वडाध्यक्ष निलम्बित



सिमरा-नेकपा माओवादी केन्द्रले आफ्ना एकजना वडाध्यक्षलाई निलम्बन गरेको छ । बाराको प्रसौनी गाउँपालिका-६ का वडाध्यक्ष बृजकिशोर कुशवाहा निलम्बनमा परेका हुन् ।

शिक्षक नागेश्वर यादवलाई वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेको अभियोगमा माओवादीले वडा अध्यक्षलाई निलम्बन गरेको नेकपा माओवादी केन्द्र बाराका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले बताए ।

श्रेष्ठले विभिन्न पाँचवटा कारण देखाउँदै वडाध्यक्ष कुशवाहाको पार्टी सदस्यता खारेज गर्नुपर्ने माग राखेका थिए । तर, प्रदेश कमिटीले छ महिनाका लागि मात्रै पार्टी सदस्यबाट उनलाई निलम्बन गरेको हो ।

पीडित शिक्षक यादवले दिएको जाहेरीका आधारमा बारा प्रहरीले वडाध्यक्ष कुशवाहालाई भदौ २ गते नियन्त्रणमा लिएको थियो । बारा प्रहरीका प्रवक्ता विजयराज पण्डितले अमानवीय व्यवहारको मुद्दा चलिरहेको बताए ।

कुशवाहा यसअघि पनि चेक अनादर कुटपिटसहित विभिन्न मुद्दामा संलग्न थिए । बारा जिल्ला अदालतको फैसला आदेश कार्यान्वयन गराउने क्रममा प्रहरीले जेठ ११ गते पनि उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार ००:००  १२ : ०५ बजे