सुनसरी- केही दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशी नदीको जलस्तरले खतराको तह पार गरेपछि सुनसरी र सप्तरीका तटीय क्षेत्रमा त्रास बढेको छ ।
नदीको बहाव प्रतिसेकेण्ड दुई लाख क्यूसेक नाघेपछि कोशी ब्यारेजमा खतराको सूचक रातो बत्ती बालिएको छ भने प्रशासनले सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक एसपी निर्मलकुमार थापाले शनिबार राति ९ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको बताए ।
नदीको उग्र रूप नियन्त्रण गर्न कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार, ५६ मध्ये २८ वटा ढोका खोलिएको छ । ‘पानीको बहाव प्रतिसेकेण्ड डेढ लाख क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने प्रचलनअनुसार बत्ती बालिएको हो’, कन्ट्रोल रुमका एक अधिकारीले भने ।
नदीको बढ्दो जलस्तरले स्थानीय बासिन्दाको मनमा भने डर बढाएको छ । कोशी छेउकै चतराका स्थानीय रामभरोस यादवले चिन्ता व्यक्त गर्दै भने, ,’जब-जब कोशी यसरी गर्जिन थाल्छ, हामीलाई २०६५ सालको याद आउँछ। रातभर नदीको आवाजले सुत्न सकिएको छैन ।’



















