बिर्तामोड-बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले दुईजना जनप्रतिनिधिको विवाद समाधानका लागि फेरि एकपटक प्रयत्न गर्ने बताउनु भएको छ । सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले समस्या समाधानका लागि आफ्नो प्रतिवद्धता दोहोर्याउनु भएको हो ।
सामाजिक सञ्जालमा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेको कमेन्टको विषयलाई लिएर राप्रपा ज्ञापनपत्रसहित सोमवार मध्यान्ह नगरपालिका कार्यालय पुगेको थियो । माओवादीसहित राप्रपाले नगरपालिका परिसरमा प्रदर्शन गर्दै आएको छ ।

उपप्रमुख संग्रौलाले वडा नम्बर ८ का अध्यक्ष अजय कार्कीको विषयमा कमेन्ट गरेको सन्दर्भलाई लिएर राप्रपा लगायतका दल विरोधमा उत्रिदै आएका छन् । उपप्रमुखको कमेन्टपछि वडाध्यक्ष कार्की गतसाता २०-२५ जनाको समूह लिएर हुलहुज्जत गर्दै उपप्रमुखको कार्यकक्षमा पुग्नु भएको थियो ।
बैठक सञ्चालन भइरहेका बेलामा कार्कीको समूह प्रवेश गरेर जथाभावी बोल्न थालेपछि भनाभन र वादविवादको स्थिति सिर्जना भएको थियो । त्यसयता विकसित घटना सडक प्रदर्शनसम्म आइपुगेको छ ।
राप्रपाको ज्ञापन बुझ्दै नगर प्रमुख प्रसाईले हुलहुज्जत गरेर समस्याको समाधान ननिस्कने बताउनु भयो । आफू पीडित भएको भए वडाध्यक्ष कार्कीले लिखित वा मौखिक रुपमा भन्नसक्ने अवस्था हुँदाहुँदै अशोभनीय काम गरेको नगर प्रमुख प्रसाईले बताउनु भयो ।
वादविवादको घटनापछि दुई जनप्रतिनिधि बीचको विवाद मिलाउन नगरपालिकाले कार्यपालिका बैठक आयोजना गरेको थियो । नगर प्रमुख प्रसाईले आफैँले फोन गरेर अध्यक्ष कार्कीलाई बोलाउन खोज्नु भयो । तर, वडाध्यक्ष कार्कीले नगर प्रमुखको फोन रिसिभ गर्नु भएन ।
नगर प्रमुखको सचिवालयमार्फत आफू नआउने खबर वडाध्यक्ष कार्कीले पठाउनु भयो । सोमवार राप्रपाले फेरि कार्यपालिका बैठक राखेर समस्या समाधानको अग्रसरता लिन नगर प्रमुखको ध्यानाकर्षण गराएको छ । जवाफमा नगर प्रमुख प्रसाईले एकपटक आफूले समाधानको प्रयास गरेको र फेरि अर्काे प्रयास गर्ने बताउँदै ‘कार्यालयभित्र हुलहुज्जत गर्दा थुन्न सकिने’ प्रष्ट सन्देश दिनु भएको छ ।
सामाजिक सञ्जालमा आफ्नो विचार वा धारणा व्यक्त गर्दा जिम्मेवार जनप्रतिनिधिले आफ्नो मर्यादाको ख्याल गर्नु पर्ने विषयमा आफू प्रष्ट रहेको र सोही अनुसार जनस्तरमा प्रस्तुत हुन आफूले सबै जनप्रतिनिधिलाई आग्रह गरेको प्रसाईले बताउनु भयो ।
‘उहाँहरु दुबै जनता जनप्रतिनिधि हो । सामाजिक सञ्जालमा जथाभावी कसैले पनि लेख्नु हुँदैन । आ-आफ्ना मर्यादा छन् । ख्याल गर्नुपर्छ’, ज्ञापनपत्र बुझाउन गएका राप्रपाका नेता कार्यकर्तासँग नगर प्रमुख प्रसाईले भन्नु भयो, ‘उसले गल्ती गर्यो म पनि गर्न पाउनु पर्छ भन्ने मानसिकता कसैले पनि राख्नु हुँदैन । कार्यपालिका बैठकमा वडाध्यक्ष कार्की उपस्थित भएको भए त्यही दिन यो विषय टुंगिने थियो ।’
राप्रपाका नेताहरु लक्ष्मी गौतम, शंकर रिजाल, कुमार भट्टराई, माओवादी नेताहरु मोहन सुब्बा लगायतले उपप्रमुख संग्रौलाले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको, सामाजिक सञ्जालमा जथाभावी लेखेको, राजनीतिक आस्थामाथि प्रहार गरेको जनाउँदै आफूहरुको आन्दोलनलाई कमजोर नठान्न नगर प्रमुख प्रसाईलाई आग्रह गर्नु भएको छ । नेता भट्टराईले ज्ञापनपत्र औपचारिकताका लागि मात्र नभएको प्रष्ट पार्दै माग पूुरा नभए थप आन्दोलन गर्ने बताउनु भयो ।



















