बिर्तामोड-राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले सोमबार बिर्तामोड नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । राप्रपाले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई भेटेर बुझाएको हो ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सामाजिक सञ्जालमा वडा नम्बर-८ का अध्यक्ष अजय कार्कीको विषयमा कमेन्ट गरेको सन्दर्भलाई लिएर राप्रपा लगायतका दल आन्दोलित छन् । ज्ञापनपत्रमार्फत राप्रपाले नगर उपप्रमुखमाथि कार्वाहीको माग गरेको छ ।
माओवादी समेतको सहभागितामा नगरपालिकामा प्रदर्शन हुँदै आएको छ । सोमवार पनि राप्रपा र माओवादीका नेता कार्यकर्ता नारा जुलुससहित नगरपालिका कार्यालयमा पुगेका थिए ।
वडाध्यक्ष कार्कीको नेतृत्वमा आएको २०-२५ जनाको समूहले गतसाता उपप्रमुखको कार्यकक्षमा हुल हुज्यतको प्रयास गरेको थियो । घटनापछि कार्कीले अरु दलको सहयोग लिएर प्रदर्शन सुरु गरेका हुन् ।
दुईजना जनप्रतिनिधि बीचको विवाद र विकसित घटनापछि बिर्तामोड नगरपालिकाले कार्यपालिकाको बैठक बोलाएर समस्याको समाधान खोज्ने प्रयास गरेको थियो । तर, कार्यपालिका बैठकमा वडा अध्यक्ष कार्की आएनन् ।



















