२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

झोलुङ्गे पुल बन्यो : नगरपालिकालाई भुक्तानीको सकस



मेचीनगर- वर्षौंदेखिको सपनाले साकार रूप लिएको छ। मेचीनगर–१५, ज्यामिरगढीमा निन्दा खोलामाथि बनिरहेको बहुचर्चित झोलुङ्गे पुल निर्माण सम्पन्न भई उद्घाटनको पर्खाइमा छ।

तर, पुल निर्माणको यो सफलताको कथा पछाडि ठेकेदारलाई भुक्तानी गर्न नसक्दा मेचीनगर नगरपालिकाले भोगिरहेको आर्थिक सकसको अर्को पाटो छ।

सपनाको सुरुवात र बजेटको अभाव

साविक ज्यामिरगढी गाविस (हाल मेचीनगर–७ र १५) लाई निन्दा खोलाले दुई भागमा बाँडेको छ। खोला वारिपारि गर्न पुल नहुँदा स्थानीयले निकै सास्ती भोग्दै आएका थिए। यही समस्यालाई समाधान गर्न नगरपालिका र सांसदहरूको संयुक्त पहलमा आर्थिक वर्ष २०७८/७९ मा पुलको योजना समावेश भयो।

तत्कालीन नगरप्रमुख विमल आचार्यको कार्यकालमा, २०७८ माघमा, बजेटको स्रोत सुनिश्चित नभईकनै पुलको ठेक्का आह्वान गरिएको थियो। २०७९ जेठमा नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पदभार सम्हालेपछि २०७९ असार ३० गते मेचीनगर नगरपालिका र थानी निर्माण सेवा प्रालि, काठमाडौँबीच ४ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भयो।

“सुरुमा संघीय सरकारबाट क्रमागत रूपमा बजेट आउँछ भन्ने आशामा तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का लगाइएको थियो,” नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले भने, “तर संघीय सरकारबाट बजेट नआएपछि काम रोकियो।”

ठेकेदारको जोखिम, नगरपालिकाको दायित्व

बजेट अभावका कारण लामो समयसम्म निर्माण कार्य अलपत्र पर्‍यो। तर, ठेकेदार कम्पनी थानी निर्माण सेवा प्रालिले अन्ततः आफ्नै जोखिममा लगानी गरेर पुललाई पूर्णता दिएको छ।

“पैसा आउँछ कि आउँदैन, निश्चित थिएन। तर, यो आर्थिक वर्षभित्र हाम्रो कम्पनीले पाँचवटा ठेक्का सक्नुपर्ने बाध्यता थियो, त्यसैले जोखिम मोलेरै काम पूरा गर्‍यौँ,” निर्माण सेवाका प्राविधिक इन्जिनियर शेखर रायमाझीले भने, “अहिले हामीले भुक्तानीका लागि नगरपालिकामा निवेदन दिएका छौँ र निरन्तर ताकेता गरिरहेका छौँ।”

नगरपालिकाले हालसम्म सशर्त अनुदान शीर्षकबाट जम्मा १ करोड १० लाख रुपैयाँ मात्र भुक्तानी गरेको छ। बाँकी रकम भुक्तानी गर्नु नगरपालिकाको दायित्व भएको नगरप्रमुख बुढाथोकी स्वीकार्छन्।

“नगरपालिकाले ठेक्का लगाएपछि भुक्तानी गर्नु हाम्रो जिम्मेवारी हो,” उनले भने, “हामीले संघीय सरकारको शहरी विकास मन्त्रालयमा बजेटका लागि बारम्बार पत्राचार र पहल गरिरहेका छौँ। भर्खरै पनि काठमाडौँ पुगेर बजेट माग गरेका छौँ।”

राजनीतिक पहल र स्थानीयको दबाब

यो पुलको शिलान्यास २०७९ मंसिर १० गते प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा र कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गरेका थिए। निर्माणमा ढिलाइ हुँदा स्थानीय युवाहरूले ‘सांसद र मेयर हराएको’ व्यङ्ग्यात्मक सूचना टाँसेर विरोधसमेत गरेका थिए। स्थानीयको यही दबाब र चासोबीच केही दिनअघि सांसद शर्माले पुलमा लठ्ठा तान्ने काममा श्रमदान गरेर आफ्नो ऐक्यबद्धता जनाएका थिए।

आधुनिक र आकर्षक पुल

यो पुल ३५० मिटर लामो, मल्टिस्पाम एन-टाइप, ब्याकस्टेड सस्पेन्सन प्रविधिको आधुनिक संरचना हो, जसमा १.५ मिटर चौडा बाटो छ। यसले वडा नम्बर १५ को बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्दै स्थानीयको दैनिकीलाई सहज बनाएको छ। अहिले पुल तयार छ, स्थानीय हर्षित छन्, तर नगरपालिका र ठेकेदार दुवै आर्थिक तनावमा छन्।

प्रकाशित मिति : १४ श्रावण २०८२, मंगलबार ००:००  ९ : २६ बजे