बिर्तामोड– मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१-८२ मा २५ अर्बभन्दा बढीको वस्तु निर्यात भएको छ । जसमा कृषि तथा औद्योगिक उत्पादनको निर्यातमा मिश्रित नतिजा देखिएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चिया निर्यातमा उत्साहजनक वृद्धि हुँदा प्रमुख निर्यातजन्य वस्तु अलैँचीको निर्यातमा भने सामान्य गिरावट आएको छ ।
गत आर्थिक वर्षमा चिया निर्यातमा ३२.५० प्रतिशतले वृद्धि भएको छ । कार्यालयका अनुसार, यस अवधिमा चार अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको १५ हजार ४१६.७५६ मेट्रिक टन चिया निर्यात भएको हो ।
यद्यपि, प्रमुख नगदेबाली अलैँचीको निर्यातमा भने ३.२० प्रतिशतले गिरावट आएको छ । आव २०८१-८२ मा सात अर्ब ६७ करोड ४० लाख ३७ हजारको अलैँची निर्यात भयो ।
जबकि अघिल्लो वर्ष सात अर्ब ९३ करोड नौ लाख ९० हजारको निर्यात भएको थियो ।
तथ्याङ्कअनुसार अन्य वस्तुहरूको निर्यातमा पनि उतारचढाव देखिएको छ । मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०८१-८२ मा कुल २५ अर्ब १३ करोड ९७ लाख ५० हजार बराबरको मालवस्तु निर्यात भएको सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिनुभयो ।



















