झापा-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चिया ऐन निर्माणका लागि अग्रसरता लिने आश्वासन दिएका छन् । प्रादेशिक चिया समन्वय समितिका पदाधिकारीसँगको भेटमा सभामुख घिमिरेले यस्तो आश्वासन दिएका हुन् ।
गृह जिल्ला झापामा आयोजित विभिन्न कार्यक्रमको व्यस्त कार्य तालिकाका बीच चिया उद्यमीसँग भेट गरेका सभामुख घिमिरेले अहिलेसम्म चिया ऐन बन्न नसकेकोमा आफूलाई अनौठो लागेको बताउँदै आफ्ना तर्फबाट पहल गर्ने बताए ।
सभामुखसँगको भेटमा प्रादेशिक चिया समन्वय समितिले चिया ऐन निर्माण, विनियोजित बजेट कार्यान्वयन लगायतका विषयमा ज्ञापन पत्र बुझाएको छ । समन्वय समितिका संयोजक आदित्य पराजुलीले चिया ऐन निर्माणमा ढिलो भइसकेको बताए ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार केन्द्र र प्रदेश सरकारको समन्वय नहुँदा चिया क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयन हुन सकेको छैन ।
चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि २ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर सरकारबीच आपसी समन्वय नहुँदा उक्त रकम खर्च गर्न कठिनाइ भइरहेको छ ।
ऐन कानुन नहुँदा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले चिया क्षेत्रका लागि विनियोजन गरेको ४ करोड १० लाख रुपैयाँ फ्रिज भएको थियो ।


















