२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

दोस्रो झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्दै



बिर्तामोड-दोस्रो संस्करणको झापा महिला गोल्डकपमा नेपाल, भारत र भुटानका आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
शिवसताक्षी-११ स्थित दुधे रंगशालामा सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस, सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लबसहित झापा-११, आरएस पोखरा, बागमती युथ क्लब सर्लाही, भारतको एभी फुटबल क्लब नयाँ दिल्ली र भुटानको थिम्पु राभेन महिला फुटबल क्लब सहभागी हुनेछन् ।

आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बुका अनुसार तीन देशका टोलीको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउनेछ । सचिवालय प्रमुख हिमाल खरेलले सहभागी आठै टोलीको टुङ्गो लागिसकेको जानकारी दिए ।

मंसिर १२ गते हुने फाइनलको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले बढाइएको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । यसपटक विदेशी टोलीको सहभागितासँगै उपाधि भिडन्त थप रोचक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगितालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिने अध्यक्ष लिम्बुले बताए ।

खेल हेर्न साधारणतर्फ १०० देखि ५०० रुपैयाँ र भिआइपीतर्फ एक हजार रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।

दर्शकको सुविधाका लागि रंगशालाको पूर्वतर्फ ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प र कप्लर प्रयोग गरी अस्थायी प्यारापिट निर्माण गरिएको छ । आयोजकका अनुसार प्रत्येक खेलमा करिब सात हजार दर्शक अट्ने गरी प्यारापिटको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, शनिबार ००:००  ७ : ४० बजे