२२ कार्तिक २०८३, शनिबार | Sat Nov 7 2026

युवाको उद्यमशीलता र रोजगारी सिर्जना प्राथमिकतामा : मुख्यमन्त्री कार्की



खाँदबारी-कोशी प्रदेश सरकारले युवाको उद्यमशीलता प्रवर्द्धन, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएको जनाएको छ ।

शनिबार सङ्खुवासभाको खाँदबारीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमै उद्यम गर्न चाहने युवालाई लक्षित गरी चालु आर्थिक वर्षको बजेटमा उदय परियोजनामार्फत करिब आठ अर्ब रुपैयाँको व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सरकारको योजना छ । यसबाट युवालाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन मिल्नुका साथै उत्पादन र रोजगारी बढ्ने सरकारको अपेक्षा छ ।

प्रदेशको स्रोतसाधन सीमित भएकाले अपेक्षाअनुसार विकास निर्माण गर्न नसकिएको उल्लेख गर्दै उनले सडक तथा पूर्वाधार विस्तारसँगै नीतिगत सुधार र सुशासनलाई पनि प्राथमिकता दिइएको बताए ।

कार्कीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै प्रेसविरोधी गतिविधिको समर्थन नगर्ने स्पष्ट पारे । वर्तमान सरकार पाँच वर्षसम्म टिकेर विधि र कानुनअनुसार काम गर्नुपर्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो ।

यसैबिच, मुख्यमन्त्री कार्कीले शनिबारै वरुण क्याम्पसको अनुगमन गर्दै सामुदायिक क्याम्पसको स्तरवृद्धि, व्यवस्थापन सुधार र भौतिक पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, शनिबार ००:००  २ : ५१ बजे