२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

शिवसताक्षीका १ हजार ८२३ भूमिसम्बन्धी फाइल जिल्ला समितिमा



शिवसताक्षी– झापाको शिवसताक्षी नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले वडा नं. १ देखि ६ सम्मका १ हजार ८२३ परिवारका फाइल प्रमाणीकरण प्रतिवेदनसहित जिल्ला भूमि समस्या समाधान समितिमा पठाएको छ ।

नगरपालिकाका अनुसार वडा नं. १ र २ का ७९८ फाइल यसअघि नै पठाइएको थियो । पछिल्लो पटक वडा नं. ३, ४, ५ र ६ का थप १ हजार २५ फाइल पठाइएसँगै जिल्ला समितिमा पुगेका फाइलको सङ्ख्या १ हजार ८२३ पुगेको हो ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरपालिकाले आफ्नो जिम्मेवारीअन्तर्गतको कामलाई प्राथमिकताका साथ अघि बढाएको बताए । बाँकी वडाको कागजात प्राप्त हुनासाथ प्रमाणीकरण गरी जिल्ला समितिमा पठाइने उनले जानकारी दिए ।

अब जिल्ला भूमि समस्या समाधान समितिले प्राप्त फाइलको रुजु र आवश्यक जाँचबुझ गर्नेछ । त्यसपछि जग्गा नापजाँचका लागि नगरपालिकालाई पत्र प्राप्त भएपछि मात्रै नापी तथा नक्साङ्कनको काम अघि बढ्ने नगरपालिकाले जनाएको छ ।

वर्षौंदेखि जग्गाको स्वामित्व र बसोबासको कानुनी मान्यताको प्रतीक्षामा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीका लागि फाइल प्रमाणीकरणलाई समस्या समाधानको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ । तर, फाइल जिल्ला समितिमा पुग्दैमा जग्गाको स्वामित्व सुनिश्चित भने हुने छैन । त्यसका लागि थप जाँचबुझ, नापजाँच र कानुनी प्रक्रिया पूरा हुनुपर्नेछ ।

नगरपालिकाले बाँकी वडाको प्रक्रिया पनि अघि बढाउने जनाएको छ । अब भूमिसम्बन्धी समस्या समाधानको आगामी गति जिल्ला समितिबाट हुने रुजु, जाँचबुझ र निर्णयमा निर्भर रहनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शुक्रबार ००:००  ७ : ५७ बजे