पश्चिमी शक्तिको स्वार्थ पूरा नभए बालेन सरकार विघटन हुन सक्छ : बादल
दमक– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले पश्चिमी शक्तिहरूको स्वार्थ पूरा गर्न नसके बालेन नेतृत्वको सरकार उनीहरूबाटै विघटन हुन सक्ने दाबी गरेका छन् ।
एमाले दमक नगर कमिटीले शुक्रबार पार्टी कार्यालय निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान र दीपावली तथा छठको शुभकामना आदानप्रदान गर्न आयोजना गरेको कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।
उनले एमाले, नेपाली कांग्रेस र तत्कालीन माओवादीसहितका राजनीतिक दलले पश्चिमी शक्तिको स्वार्थ पूरा नगरेपछि पार्टी कार्यालय र नेता-कार्यकर्ताका घर तथा भवनमा आगजनी र तोडफोड गरिएको दाबी गरे ।
पश्चिमी शक्तिले पहिले सद्दाम हुसेन र ओसामा बिन लादेनलाई अघि सारे पनि पछि आफ्नो स्वार्थमा बाधक बनेपछि उनीहरूलाई नै समाप्त पारेको उदाहरण दिँदै थापाले नेपालको राजनीतिमा पनि त्यस्तै हस्तक्षेप हुन सक्ने तर्क गरे ।
कार्यक्रममा २०८२ भदौ २४ को जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त एमाले दमक नगर कार्यालयको पुनर्निर्माणमा सहयोग गर्ने दाता, नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
दमक-९ स्थित पार्टी कार्यालय निर्माणका लागि जग्गा दान गर्ने लक्ष्मीप्रसाद बराल, लक्ष्मीदेवी बराल, खेम बराल र दीपा दाहाल बराललाई प्रमुख अतिथि थापाले सम्मान गरे ।
एमाले दमक नगर अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा भवन निर्माण तथा पुनर्निर्माण समिति संयोजक अम्बिका खनालले पार्टी कार्यालय पुनर्निर्माणबारे जानकारी गराएका थिए ।


















