बिर्तामोड– नेपालमा सर्पदंशका कारण वर्षेनि करिब २० हजार मानिस प्रभावित हुने र एक हजारभन्दा बढीको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
सर्पदंशबाट हुने मृत्यु र अपाङ्गता न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि तथा समयमै उपचारको पहुँच विस्तार गर्नुपर्नेमा स्वास्थ्य क्षेत्रका विज्ञले जोड दिएका छन् ।
सर्पदंशको जोखिम, लक्षण, प्राथमिक सावधानी र उपेक्षित उष्ण प्रदेशीय रोगबारे जानकारी गराउने उद्देश्यले झापा र विराटनगरमा सञ्चारकर्मीसँग छुट्टाछुट्टै अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएका छन् ।
झापाको बिर्तामोडमा फेयरमेड फाउण्डेसन नेपालको सहयोगमा सहारा नेपालद्वारा सञ्चालित संकल्प परियोजनाअन्तर्गत मंगलबार नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा कार्यक्रम गरिएको थियो ।
विराटनगरमा फेयरमेड र सीबीआरको आयोजनामा सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको हो । दुवै कार्यक्रममा सर्पदंशबाट हुने जोखिम, यसबाट बच्ने उपाय र सर्पले टोकेपछि अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको थियो ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क उद्धृत गर्दै जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार मानिस सर्पदंशबाट प्रभावित हुने र एक हजारभन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा सर्पदंशका कारण हुने मृत्यु र अपाङ्गतालाई ५० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । त्यसका लागि जनचेतना अभिवृद्धि, समयमै उपचार र स्वास्थ्य सेवामा सहज पहुँच आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो ।
श्रेष्ठका अनुसार तराई क्षेत्रका कृषक, कृषि मजदुर, माछा मार्ने व्यक्ति, सपेरा तथा बालबालिका सर्पदंशको उच्च जोखिममा छन् ।
नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजाति विषालु रहेको जानकारी दिँदै उनले गोमन, करेत, किङ कोब्रा, कोरल र विभिन्न प्रकारका भाइपरबाट हुने जोखिमबारे बताएका थिए ।
गोमन र करेतको विषले स्नायु प्रणालीमा असर गरी पक्षघात गराउन सक्ने तथा भाइपरको विषले रगत जम्ने प्रक्रियामा अवरोध पुर्याउन सक्ने उनले बताए ।
सर्पले टोकेपछि धामीझाँक्रीकहाँ लैजाने, टोकेको ठाउँ काट्ने वा चुस्ने, आगोले डाम्ने, जडीबुटी वा अन्य पदार्थ लगाउने र खोर्सानी खुवाउनेजस्ता गलत अभ्यासले बिरामीको ज्यान जोखिममा पार्न सक्ने विज्ञहरूले बताएका छन् ।
सर्पदंश भएमा बिरामीलाई शान्त राख्न, प्रभावित अङ्गलाई स्थिर राख्न र जतिसक्दो छिटो नजिकैको सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्याउन उनीहरूले सुझाव दिएका छन् ।
सर्पदंशबाट बच्न खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउने, भुइँमा नसुत्ने, झुल प्रयोग गर्ने, घरवरिपरि मुसा तथा फोहोर नियन्त्रण गर्ने र राति हिँड्दा टर्चको प्रयोग गर्ने उपाय अपनाउन आग्रह गरिएको छ ।
साथै स्थानीय तहले एन्टिस्नेक भेनम, आवश्यक सघन उपचार सेवा र उपचार केन्द्रमा नागरिकको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।
बिर्तामोडमा आयोजित कार्यक्रममा सर्पदंश विज्ञ श्रेष्ठसँगै उपेक्षित उष्ण प्रदेशीय रोग विज्ञ रुशा उपाध्यायले कालाजार, हात्तीपाइले, कुष्ठरोग, डेङ्गु, रेबिजलगायत रोगबारे जानकारी दिएकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले सञ्चारकर्मीलाई सर्पदंश र उपेक्षित रोगबारे सही सूचना प्रवाह गरी जनचेतना फैलाउन आग्रह गरेका थिए । कार्यक्रम सहारा नेपालका कोषाध्यक्ष श्याम प्रधानको अध्यक्षतामा भएको थियो ।
सर्पदंशबाट हुने क्षति न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना फैलाउनुका साथै वैज्ञानिक उपचार पद्धतिबारे नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने दुवै कार्यक्रमको सन्देश थियो ।


















