२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

भक्तिपरक छन्द कविता वाचनमा पराजुली प्रथम



झापा-झापाको सताक्षीधामस्थित गोलोक गोवर्धन गौशालाले आयोजना गरेको जिल्ला स्तरीय भक्तिपरक छन्द कविता वाचन प्रतियोगितामा हरि पराजुली प्रथम भएका छन् ।

गौशालाको सभाहलमा आयोजित प्रतियोगितामा जयप्रसाद आचार्य द्वितीय, जीवनहरि शर्मा तृतीय र मोक्ष खतिवडा सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । विजेताहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा झापाका २७ जना कवि तथा कवयित्रीले सहभागिता जनाएका थिए । सहभागीले गाईको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व, गौरक्षाको आवश्यकता तथा गाई संरक्षणका विषयलाई समेटेर भक्तिपरक छन्दमा कविता वाचन गरेका थिए ।

गाई संरक्षण र प्रवर्द्धनसँगै धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजले बताए ।

साहित्य र सिर्जनाका माध्यमबाट गाईको महत्त्व उजागर गर्दै गौरक्षाको अभियानलाई प्रभावकारी बनाउन प्रतियोगिताले योगदान पुर्‍याउने उनको भनाइ थियो ।

साहित्यकार कमलप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापाका ६० भन्दा बढी साहित्यकार तथा विभिन्न सङ्घसंस्थाका अध्यक्ष र प्रतिनिधिसहित एक सयभन्दा बढीको सहभागिता थियो । कार्यक्रमको सञ्चालन गौशालाका सचिव मदनमोहन अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार ००:००  ९ : ५९ बजे