११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

शिवसताक्षीका कर्मचारीले बाढीपीडितका लागि ८ लाख जुटाउने



शिवसताक्षी– रसुवा हुँदै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पीडामा साथ दिन झापाको शिवसताक्षी नगरपालिकाका कर्मचारीले करिब ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् ।

नगरपालिकाका कर्मचारीको बैठकले बाढीपीडितको राहत तथा उद्धारका लागि आफ्नो तलबबाट सहयोग गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार अधिकृत तहका कर्मचारीले जनही ५ हजार, सहायक चौथो र पाँचौँ तहका कर्मचारीले ४ हजार तथा कार्यालय सहयोगी र सवारी चालकले जनही ३ हजार रुपैयाँ योगदान गर्नेछन् ।

शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङका अनुसार कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । उक्त रकम बाढीपीडितको राहत तथा उद्धारमा प्रयोग हुने गरी उपलब्ध गराइनेछ ।

हाल नगरपालिकामा १८२ जना कर्मचारी कार्यरत छन् । सबै तहका कर्मचारीको योगदानबाट करिब ८ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको योङहाङले जानकारी दिनुभयो ।

बाढीका कारण कतिपय परिवारले घर तथा सम्पत्ति गुमाएका छन् भने कतिपयले रोजगारी र आम्दानीको स्रोतसमेत गुमाएका छन् । आफन्त गुमाएका परिवार शोकमा छन् भने विस्थापित परिवार सुरक्षित बास, खाद्यान्न, लत्ताकपडालगायत आधारभूत आवश्यकताको अभावमा छन् ।

यस्तो संकटको समयमा राज्यसँगै समाजका हरेक तह र तप्काबाट सहयोग आवश्यक रहेको कर्मचारीहरूले बताएका छन् । बैठकले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेको छ ।

‘विपद्को पीडामा हामी सबैको साझा जिम्मेवारी हो’ भन्ने भावनासहित कर्मचारीहरूले गरेको यो पहलले बाढीपीडितप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको सन्देश दिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८३, बिहिबार ००:००  १२ : १५ बजे