४ भाद्र २०८३, बिहिबार | Thu Aug 20 2026

सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा



शिवसताक्षी– सार्वजनिक खरिद प्रक्रियामा कानुनी र प्रक्रियागत त्रुटि हुन नदिन झापाको शिवसताक्षी नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिएको छ ।

नगरपालिकाले सार्वजनिक खरिद ऐन तथा नियमावलीसम्बन्धी आयोजना गरेको चारदिने अभिमुखीकरण बिहीबार सम्पन्न गर्दै सार्वजनिक खरिदलाई कानुनसम्मत, पारदर्शी र प्रभावकारी बनाउन कर्मचारी तथा जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिएको हो ।

समापन कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्राले नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्दा कर्मचारीले प्रचलित कानुन र नियमको सीमाभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो । जनप्रतिनिधि जनताको भावना र सेवासँग जोडिए पनि कर्मचारी कानुनी प्रक्रियाका हिसाबले बढी जिम्मेवार हुने उहाँको भनाइ थियो ।

“जनप्रतिनिधि जनताको सेवा र भावनासँग जोडिएका हुन्छन्। तर कर्मचारीले भावनाभन्दा कानुनलाई आधार बनाएर कामलाई छिटो, चुस्त र प्रभावकारी बनाउनुपर्ने हुन्छ,” नगर प्रमुख थोप्राले भन्नुभयो ।

उहाँले सरकारबाट समय-समयमा ऐन, नियम तथा कार्यविधि संशोधन भइरहने भएकाले कर्मचारीलाई त्यसबारे निरन्तर अद्यावधिक गराउन आवश्यक रहेको बताउनुभयो ।

चारदिने अभिमुखीकरणमा सार्वजनिक खरिदका प्रकार तथा विधि, खरिद समिति, इकाइ तथा शाखाको भूमिका, रणनीतिक खरिद योजना, प्राविधिक विवरण तयारी, कार्यक्षेत्र तथा सर्त निर्धारण र लागत अनुमान तयार गर्ने प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो ।

त्यस्तै लागत अनुमान सार्वजनिक गर्ने व्यवस्था, बोलपत्र आह्वान तथा मूल्याङ्कन, दरभाउपत्रलगायत सार्वजनिक खरिदका कानुनी तथा व्यावहारिक पक्षमा सहभागीलाई प्रशिक्षण दिइएको थियो ।

समापन कार्यक्रममा सहभागीको तर्फबाट नगरपालिकाका इन्जिनियर कृष्ण राई र जनस्वास्थ्य निरीक्षक सारङ्गा तामाङले प्रशिक्षणबाट प्राप्त सिकाइ तथा अनुभव सुनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले अभिमुखीकरणले सार्वजनिक खरिदसम्बन्धी कामलाई कानुनी प्रक्रियाअनुसार अघि बढाउन कर्मचारीलाई सहज हुने बताउनुभयो ।

कार्यक्रममा नगरपालिका, वडा कार्यालय तथा सार्वजनिक खरिदसम्बन्धी काममा प्रत्यक्ष संलग्न कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो । लक्ष्मण खतिवडा र नवानित तिवारीले सहजीकरण गर्नुभएको अभिमुखीकरणको सञ्चालन कार्यक्रम अधिकृत महेश लामिछानेले गर्नुभएको थियो ।

सात कर्मचारीको स्वागत

अभिमुखीकरणको समापनसँगै अन्य स्थानीय तहबाट शिवसताक्षी नगरपालिकामा सरुवा भएर आएका सात कर्मचारीलाई स्वागत गरिएको छ ।

नगर प्रमुख थोप्रा, प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङफे तथा वडाध्यक्ष भवानी विक्रम चेम्जोङलगायतले नवआगन्तुक कर्मचारीलाई अबिर र खादा लगाएर स्वागत गर्नुभयो ।

नगरपालिकामा सरुवा भएर आउनेमा कमला पाण्डे, दिक्षा भण्डारी, अमितकुमार यादव, महोमद उमर मन्सुर, कुलबहादुर बुढा, पूजा गिरी र सारङ्गा तामाङ हुनुहुन्छ।

नयाँ कर्मचारीको आगमनसँगै नगरपालिकाको सेवा प्रवाह र कार्यालयको कार्यसम्पादन थप प्रभावकारी हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहिबार ००:००  ७ : ५५ बजे