काठमाडौं– सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनमको अभाव र अस्पताल पुग्न हुने ढिलाइका कारण पछिल्लो चार महिनामा ६५ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखयता ९२४ जनालाई सर्पले डसेकोमा ६५ जनाको मृत्यु भएको हो । मृतकमध्ये ठूलो संख्या बालबालिकाको रहेको प्राधिकरणले जनाएको छ।
बर्खायाममा एन्टिभेनमको चरम अभाव भएपछि बुधबारसम्म देशभर करिब २ हजार १ सय भायल मात्र मौज्दात थियो । बिहीबार स्वास्थ्य सेवा विभागले थप ८ हजार २ सय भायल ल्याएर प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयमार्फत वितरण सुरु गरेको छ । तर, यो परिमाण पनि पर्याप्त छैन ।
दिनमा औसत ३ सय भायल खपत भए थपिएको एन्टिभेनम करिब ३४ दिनलाई मात्र पुग्ने देखिन्छ । सर्पको विषको असरअनुसार एक बिरामीलाई १० देखि २५ भायलसम्म एन्टिभेनम आवश्यक पर्न सक्छ ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार अस्पतालसम्म समयमै नपुग्नु, एन्टिभेनम अभाव हुनु र अस्पतालबाहिरको उपचारमा भर पर्दा मृत्यु बढिरहेको छ । सरकारी तथ्यांकमा सूचीकृत अस्पतालका घटना मात्रै समेटिएकाले वास्तविक संख्या अझ बढी हुन सक्ने उनको भनाइ छ ।
प्रदेशगत तथ्यांकमा मधेशमा १२२ सर्पदंशका घटनामा २६ जनाको मृत्यु भएको छ । लुम्बिनीमा २४६ जनालाई डस्दा १६, कोशीमा १०९ जनामा ११, सुदूरपश्चिममा १६७ जनामा ८, कर्णालीमा ४४ जनामा ३ र बागमतीमा ३२ जनामा एकजनाको मृत्यु भएको छ । गण्डकीमा ३७ जनालाई सर्पले डसेको तथ्यांक छ ।
सर्पदंशबाट हुने मृत्युको जोखिम विशेषगरी तराई क्षेत्रमा उच्च देखिएको छ । प्राधिकरणले समयमै अस्पताल पुर्याउने र पर्याप्त एन्टिभेनम उपलब्ध गराउने व्यवस्था नहुँदा उपचारयोग्य विषालु सर्पदंश पनि ज्यानघातक बनिरहेको जनाएको छ ।


















